
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत नयाँ फिल्म ‘तिम्रो मेरो साथ’ शुक्रबारबाट प्रदर्शनरत छ । उनको स्टारडमले फिल्मको इनिसियल व्यापार सुखद् हुने विश्लेषण गरिएको थियो । तर, फिल्मको दुई दिने व्यापार अपेक्षाकृत हुन सकेन । त्यसो त फिल्मले प्रतिक्रिया पनि गतिलो पाएको छैन । फिल्मले निकै कमजोर व्यापार गरेपछि यतिबेला साम्राज्ञीको खिसिटिउरी गर्न थालिएको छ ।

यस वर्षको सुपरहिट फिल्म ‘प्रेमगीत ३’पछि करिब दुई महिना मौन रहेका अभिनेता प्रदीप खड्काले नयाँ फिल्म साइन गरेका छन् । उनले यही शुक्रबार दीपक वलीको निर्देशनमा बन्न लागेको एक बेनाम फिल्म सम्झौता गरेका हुन् । स्क्रिप्ट र चरित्रबाट प्रभावित भएका उनले महंगो पारिश्रमिकमा फिल्म साइन गरेको बताइएको छ । आगामी मार्च (चैत) बाट फिल्मको छायांकन सुरु हुनेछ ।

निर्देशक सौरभ चौधरीको ड्रिम प्रोजेक्ट ‘द अनब्रेकेबल : अगस्त्य’मा अभिनेता सौगात मल्लको प्रवेश भएको छ । माघे संक्रान्तिको अवसरमा एक पोस्टर सार्वजनिक गर्दै फिल्ममा सौगातको अभिनय रहने जानकारी गराइएको हो । ‘मिस्टर भर्सटायल’को उपाधि दिइएको पोस्टरमा उनी एक कुकुरका साथमा स्टाइलिस लुक्समा प्रस्तुत छन् । फिल्ममा सौगात अगस्त्यको भूमिकामा रहनेछन् ।

सुदर्शन थापाले क्याप्टेनसिप सम्हालेको फिल्म ‘प्रसाद २’को सुटिङ प्याकअप भएको छ । मंसिर २९ गते माछापुच्छ्रे गाउँपालिकाको ल्वाङ गाउँबाट सुरु भएको छायांकन ३१ दिनमा सकिएको हो । शनिबार ल्वाङ गाउँमै फिल्मको अन्तिम सिन खिचियो । सम्पूर्ण छायांकन सकिएसँगै फिल्मको आगामी नयाँ वर्ष अर्थात् २०८० सालको बैशाख १ गतेलाई प्रदर्शन मिति समेत पक्का गरिएको छ ।

बलिउड सुपरस्टार शाहिद कपूरले राज एन्ड डिकेको नामबाट चर्चित राज निदिमोरु र कृष्णा डिकेको क्राइम-थ्रिलर वेब सिरिज ‘फर्जी’बाट ओटीटीमा डेब्यू गर्दैछन् । यसमा उनले पहिलो पटक साउथ सुपरस्टार विजय सेतुपतिसँग स्क्रिन साझेदारी गरेका छन् । शुक्रबार सार्वजनिक ट्रेलरले गज्जबको प्रतिक्रिया पाएको छ । आगामी १० फेब्रअरीमा प्राइभ भिडियोमा यो सिरिज रिलिज हुनेछ ।

बाल यौन दुरूपयोगमा नवलपुर अदालतले २ वर्ष ६ महिनाको जेल सजाय सुनाएपछि तनहुँ जिल्ला कारागारमा सजाय काटिरहेका लोकप्रिय मोडल तथा अभिनेता पल शाहले रिहा भएपछि फिल्म ‘ओ सजन’बाट कमब्याक गर्ने भएका छन् । शिवम् अधिकारीको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मको निर्माणका लागि हिजो शुक्रबार चलचित्र विकास बोर्डबाट इजाजतपत्र लिइएको छ ।

