
आगामी बैशाख २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘गुरु आमा’को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले उक्त गीत सार्वजनिक गरेको हो । गीतमा ममता गुरुङ र मोहन नेपालीको स्वर रहेको छ भने प्रेम सोनी सुनारको शब्द तथा बीबी अनुरागीको संगीत छ ।

चर्चित गायक रामकृष्ण ढकालले पहिलो पटक निर्माण गरेको फिल्म ‘मालती मंगले’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक डेढ मिनेट लम्बाइको टिजरले फिल्मको कथावस्तु, केन्द्रीय द्वन्द्व र कथाको सेटिङबारे प्रकाश पारेको छ । शंकाका कारण वैवाहिक सम्बन्धमा आउने उतारचढावको कथामा फिल्म आधारित रहेको प्रस्ट संकेत टिजरले दिएको छ ।

गत माघ १६ गते प्रदर्शन भएको ‘आ बाट आमा’पछि नेपाली फिल्मले घरेलु बक्स अफिसमा निकै निराशाजनक व्यापार गरिरहेका छन् । यो बीचमा प्रदर्शन भएका कुनै फिल्मले एक करोडको आँकडा पनि पार गर्न सकेनन् । बरु भारतीय फिल्म ‘धुरन्धुर २’ले नेपालमा आक्रामक कमाइ गर्यो । तर, नेपाली फिल्महरू भने दर्शक नपाएरै हलमा छटपटिए ।

अभिनेत्री झरना थापा र उनकी छोरी तथा अभिनेत्री सुहाना थापालाई पहिलो पटक फिल्ममा एकसाथ देख्न पाइने भएको छ । हाल छायांकनरत फिल्म ‘बाः एक योद्धा’मा यी आमाछोरी एकसाथ देखिन लागेका हुन् । फिल्ममा पनि उनीहरू आमाछोरीकै भूमिकामा रहेको निर्देशक हरि लम्सालले जानकारी दिए । दुवैले अहिले एकसाथ ‘सट’ दिइरहेका छन् ।

बलात्कारको आरोप लागेका कलाकार सागर लम्साल ‘बले’ एक सातादेखि नेपाल प्रहरीको हिरासतमा छन् । उनीविरुद्ध कुनै उजुरी नपरेका कारण प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्धा चलाएर अनुसन्धान गरिरहेको छ । गत आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

‘पुष्पा’का दुई श्रृंखलाको सफलतापछि अभिनेता अल्लू अर्जुन अब ‘जवान’ निर्देशक एटलीको नयाँ फिल्ममा देखिँदैछन् । उनीहरूले सहकार्य गर्ने तय भएपछि फिल्मको अस्थायी नाम ‘एए ट्वान्टी सिक्स-ए सिक्स’ राखिएको थियो । अब भने फिल्मले स्थायी नाम पाएको छ । बुधबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको नाम ‘राका’ रहने जानकारी दिएको हो ।

