Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म 'पूजार सार्की' र दलित आयोगका पदाधिकारी बिच छलफल

फिल्मीखबर, काठमाडौंं, 2024/05/03

जेठ १० गते रिलिज हुने नेपाली चलचित्र 'पुजार सार्की'को टिम र राष्ट्रिय दलित आयोगका पदाधिकारी बिच छलफल भएको छ। जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित भएर बनेको यो चलचित्र प्रति योगले चासो देखाउँदै यसै साता ललितपुरको कुपण्डलोस्थित आयोगको कार्यालयमा छलफल कार्यक्रम राखेको थियो।

फिल्मको टिमसँग आयोगका अध्यक्षदेखि सदस्यसम्मले भेट गर्दै फिल्मबारे जानकारी लिए। फिल्मको टिमलाई स्वागत गर्न आयोगले विशेष कार्यक्रम नै राखेको थियो। फिल्मका अभिनेत्री द्वय अञ्जना बराइली र परीक्षा लिम्बू तथा लेखक विकास सुवेदीको कार्यक्रममा उपस्थिति थियो। लेखक सुवेदीले आयोगलाई फिल्मको कथावस्तुबारे जानकारी दिँदै 'पूजार सार्की' आफूले देखेको घटनामा आधारित भएर बनेको उल्लेख गरे।



आयोगसँगको छलफलमा सहभागी हुँदै सुवेदीले भने, "मैले आफ्नो गाउँ ठाउँमा देखेको घटनामा फिल्म लेखेको हुँ। फिल्ममा उल्लेखित केही घटनालाई प्रगतिशील विचार राख्नेहरूले समेत मुर्ख्याइँको रूपमा लिने गरेका छन्, जुन कुरा बाहिर आउन जरुरी छ। यसले हाम्रो समाजको दृष्टिकोण अझै बदलिएको रहेनछ भन्ने मलाई लाग्यो।" कमर्सियल कलाकारहरू र प्रस्तुतिसहित फिल्मबाट जात भन्ने चीज नै मानवीय दृष्टिमा स्वीकार्य हुँदैन भन्ने कुरा स्थापित गर्न खोजिएको लेखक सुवेदीले स्पष्ट पारेका थिए। "तत्कालीन राजा महेन्द्रले मुलुकी ऐन अन्त्य गरेर छुवाछुत जघन्य अपराध हो भन्ने स्वीकार गरे, त्यो दिनदेखि २०४६ सालको ५६ दिनको आन्दोलनको पेरिफेरिमा फिल्मको कथा घट्छ," उनले भने।

अभिनेत्री अञ्जना बराइलीले आफू पनि दलित समुदायबाट प्रतिनिधित्व गर्ने भएकाले बच्चैदेखि विभेद देखेको स्मरण गरिन्। फिल्मको कथा सुनेपछि काम गर्न उत्साहित भएको बताउँदै उनले फिल्म गर्ने बेला धेरै कुरा सिक्न पाएको धारणा व्यक्त गरिन्। अभिनेत्री परीक्षालाई भने सुरुमा यस्तो कथामा अझै पनि फिल्म बनाउन जरुरी छ र ? भन्ने लागेको रहेछ । उनले भनिन्, "जुन समुदाय र स्थानमा म हुर्किएँ, त्यहाँबाट हेर्दा अझै पनि यस्तो कथामा फिल्म बनाउन जरुरी छ र ? भन्ने लागेको थियो । जातीय विभेद त अब सकिसक्यो, यस्तो कथामा पनि फिल्म बनाउनुपर्छ र भन्ने भएको थियो। जब फिल्मको कथा सुनेँ र जहाँ छायाङ्कन भयो, त्यहाँको परिस्थितिले मलाई अचम्मित बनायो। त्यहाँ धेरै कुरा देख्ने र बुझ्ने मौका पाएँ।"

दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातीय विभेद अन्त्य गर्ने उद्देश्यले 'पूजार सार्की' निर्माण भएकोमा खुसी व्यक्त गरे। उनले फिल्मलाई आयोगले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। "जातीय विभेदको विषय १४ प्रतिशत दलित समुदायको मात्र होइन, यसले हाम्रो देशको अर्थतन्त्रमै गम्भीर असर पारेको छ। यो कुराको अन्त्यका लागि फिल्म बनाएर जुन कदम चालिएको छ, त्यसका लागि सम्मान छ। र, आयोगले फिल्मलाई जुनसुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु," अध्यक्ष विश्वकर्माले भने।

दलित आयोगका सदस्यहरू मिना देवी सोव, टुन्जे कामी, मेहले पार्की र सुन्दर पुर्कुटीले पनि फिल्मले उठाएको विषयको प्रशंसा गर्दै यसले जातीय विभेद अन्त्य गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। दिनेश राउतको निर्देशनमा तयार भएको 'पूजार सार्की'मा तीन सुपरस्टारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय छ।

Most Visited News (monthly)