मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.33/5.00)
Text size:-
+
-

‘बोक्सीको घर’को कमाई साढे ५ करोड नजिक, अब सिक्वेल बन्ने

फिल्मीखबर, काठमाडौं, 2024/05/02

 

अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय रहेको फिल्म ‘बोक्सीको घर’ले घरेलु बजारमा अकल्पनीय व्यापार गरिरहेको छ । सानदार ओपनिङ गरेको फिल्मले हरेक दिन हलमा दर्शकको मेला लगाएको छ । बुधबार मजदुर दिवसको सार्वजनिक विदामा फिल्मको व्यापार गत शनिबारको भन्दा आक्रामक रह्यो । बुधबार मात्र फिल्मले देशभर १ करोड ६० लाख ग्रस व्यापार गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा वितरकले ‘बोक्सीको घर’को ६ दिन (बुधबारसम्म)को व्यापार सार्वजनिक गरेका छन् । यो अवधिमा फिल्मले ५ करोड ४५ लाखको व्यापार गरेको वितरक अशोक शर्माले जानकारी गराए । बिहीबार पनि फिल्मले ६० लाख आसपास व्यापार गर्ने उनको प्रक्षेपण छ । यसरी हेर्दा फिल्मले पहिलो हप्तामै देशभित्र ६ करोडमाथि कमाउने देखिन्छ ।

पहिलो सप्ताहमै फिल्म ‘सुपरहिट’ भएपछि अब यसको सिक्वेल निर्माण गरिने भएको छ । फिल्मका निर्देशक तथा लेखक सुलक्षण भारतीले दोस्रो श्रृंखलाको स्क्रिप्ट लेखनको काम सकिएको जानकारी गराएका छन् । तर, त्योभन्दा अगाडि उनी अर्को एउटा फिल्म बनाउने तयारीमा छन् । सम्भवतः अर्को वर्ष सिक्वेल बन्नेछ । फिल्म सकिएको ठाउँबाट बाँकी कथा सुरु हुने सुलक्षणको भनाई छ ।

केकीलाई भने ‘बोक्सीको घर’ले पाएको सफलता सपनाजस्तै लागिरहेको छ । यो फिल्मबाट कथा बलियो हुनुपर्छ भन्ने पाठ सिकेको पनि उनको भनाई छ । बिहीबार पत्रकारसँग उनले भनिन्, ‘मलाई साँच्चै सपनाजस्तो महसुस भइरहेको छ । यो सबै हो कि होइन जस्तो लागिरहेको छ । मैले यो फिल्मबाट एउटा ठूलो पाठ के सिकेँ भने कथावस्तु बलियो भयो भने दर्शकले राम्रो साथ दिनुहुन्छ ।’