मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(9 votes, avg 4.44/5.00)
Text size:-
+
-

फिल्मीखबर २०७० वर्ष समिक्षा

फिल्मीखबर, काठमाडौं, 2014/04/14

दुई हजार सत्तरी सालमा लगभग सयजति फिल्महरु प्रदर्शनमा आए । गत वर्षको तुलनामा यो संख्या कमै हो । तरपनि जति प्रदर्शनमा आए त्यसमध्ये चार वटा चलचित्रले मात्र नाफा कमाउन सफल भए । तर सत्तरी सालको अन्त्यतिर लागेको ‘नाइँ नभन्नु ल २’ले आक्रामक व्यापार गर्न सफल भएको छ । अर्को फिल्म ‘मनले मनलाई छुन्छ’ ले पनि हेर्ने जति सबै दर्शकको मन छोयो । तर ‘नाइँ नभन्नु ल २’ को प्रचारका अघि ‘मनले मनलाई छुन्छ’ ओझेलमा परेको छ ।

 

सरसर्ती हेर्दा यो वर्ष निर्माताको पचास करोड डुबेको छ ।  एउटा चलचित्रमा चालिसदेखि असी लाखसम्मको लगानी भएको पाइन्छ । त्यसलाई औषतमा हिसाब गर्ने हो भने एउटा चलचित्रको सरदर लगानी पचास लाख जति हुन आउँछ । सयको हाराहारीमा बनेका फिल्मको संख्याबाट औसत निकाल्दा यस्तो तथ्यांक देखिन आउँछ । 

 

यो वर्ष ब्ल्कबस्टर मानिएका फिल्महरुमा ‘छ एकान छ’, ‘झोला’ ‘काली’, ‘होस्टेल’ रहेका छन् । चलचित्र 'नभन्नु ल २' को सुरुवाती व्यापार उत्साहजनक छ तर अहिले नै यस फिल्मले पाएको सफलतालाई कुन श्रेणीमा राख्ने भन्ने निक्र्यौल गर्नु  हतारो हुन्छ ।  त्यसैले यी चार फिल्महरु माथि नै केन्द्रित रहेर विश्लेषण गर्नु वाञ्छनिय हुन्छ ।  यी चार फिल्महरु मध्ये ‘छ एकान छ ’ ले सर्वाधिक राम्रो व्यापार गरी नम्बर वान फिल्म बन्न सफल भएको छ ।

 

‘छ एकान छ’ पछि झोला, ‘काली’ र ‘होस्टेल’ राम्रो व्यापार गर्ने फिल्ममा दरिए । यस्तै सय वर्ष अगाडीको यथार्थ घटनामा बनेको फिल्म ‘झोला’ ले पनि दुई हजार सत्तरी सालमा आफुलाई अब्बल फिल्मको रुपमा आफुलाई प्रस्तुत त गर्यो नै व्यापारिक हिसाबमा पनि आफुलाई एउटा सफल चलचित्रको रुपमा उभ्यायो । नयाँ निर्देशक र नयाँ कलाकारलाई लिएर बनाइएको फिल्म ‘होस्टेल’ ले राम्रो व्यापार गर्न सफल भएको थियो ।

 

२०७० सालमा जे जति फिल्म प्रदर्शनमा आए र त्यसमध्ये जे जति सफल भए त्यसमा हिरोको भन्दा हिरोइनहरुकै वर्चश्व बढी देखियो । जस्तो कि ‘काली’ मा रेखा थापा, ‘झोला’मा गरिमा । यस्तै अलिअलि चलेजस्तो देखिएका चलचित्र ‘झोले'मा प्रियंका र ‘बितेका पल’मा केकी ।

 

वर्ष ७० हिरो भन्दा हिराइनका कारण विशेष रह्यो । ०६९  सालमा केही फिल्मका कारण चर्चा र प्रशंसा पाएकी नायिका नीता ढुंगानालाई भने सत्तरी सालले खासै फाइदा पुर्याएन । उनले अभिनय गरेको फिल्म ‘छ एकान छ’ ब्ल्कबस्टर त भयो तर त्यसको सम्पूर्ण क्रेडिट कमेडी कलाकारले लगे । तर, अर्की नायिका प्रियंका कार्कीका फिल्महरु असफल भएपनि उनी वर्षभरी नै व्यस्त नायिकाका रुपमा चिनिइन् । अझ वर्षको अन्त्यतिर आएर रिलिज भएको फिल्म ‘नाइँ नभन्नु ल २’ ले त झन प्रियंकाको चर्चा बढाइदिएको छ ।

 

कुनै बेला रेखा थापाको नामसँगै जोडिने अर्को नाम झरना थापाको हुने गर्दथ्यो ।  तर, सत्तरी साल भने झरनालाई फापेन । सत्तरी सालमा झरनाका ७, ८ वटा जति फिल्महरु प्रदर्शनमा आए तर ती फिल्महरु कहिले लागेर कहिले उत्रिए कसैलाई हेक्कै भएन ।

 

यस्तै म्यूजिक भिडियोकी क्विनका रुपमा चिनिएकी नायिका केकी अधिकारीलाई पनि सत्तरी साल त्यत्ति फापेन । जबकी कि उनले अभिनय गरेका फिल्महरुमा उनको कामको प्रशंसा त गरियो तर ती फिल्महरु व्यवसायिकताको कसीमा खरो उत्रन भने सकेनन् । यस्तै राम्री नायिकाका रुपमा चिनिएकी नम्रता श्रेष्ठको हालत पनि केकीको जस्तै नै रह्यो । नम्रताले अभिनय गरेका दुई फिल्महरु ‘मौन’ र ‘मेघा’ मा उनको कामको जति प्रशंसा गरियो त्यति नै उनका ती फिल्मत्रहरु बक्स अफिसमा असफल सावित भए ।

 

कुनै बेला सम्भावना बोकेकी नायिकाको रुपमा हेरिएकी सुमिना घिमिरेका फिल्म पनि सत्तरी सालमा रिलिज नभएका भने होइनन् । तर सुमिनाका कुनै पनि फिल्मले फूल फुलाउन भने सकेनन् । अझ सुमिनालाई त छाडा चलचित्र खेलेको भनेर दुरदुर समेत गरियो । यस्तै कुनै बेला ईन्डस्ट्री हाँक्न सक्ने नायिकाका रुपमा व्याख्या गरिएकी अभिनेत्री निशा अधिकारी त सत्तरी सालमा काउनडाउनमै परिनन् । किनकी सत्तरी सालमा उनका एउटै पनि फिल्म रिलिज भएनन् । आफ्नो फिल्म नभएपछि निर्माता तथा चलचित्र वितरक साथी सुनिल मानन्धरको फिल्म ‘मोक्ष’ को प्रचार प्रसार र च्यारेटी गर्दैमा निशाको समय बित्यो ।

 

‘चपली हाइट’ को रिलिजपछि उत्साहित नायिका विनिता बरालको पनि सत्तरी साल फिल्म विहिन वर्ष बन्न पुग्यो । विनिता यतिखेर फिल्म क्षेत्र छाडी तरकारी खेतीतिर लागेकी छिन्  । यस्तै ‘भिसा गर्ल’ को रिलिज देखि नै बोल्ती बन्द भएको ऋचा शर्माको बोली ०७० सालमा पनि खुलेन । किनकी सत्तरी सालमा रिलिज भएको ऋचाको एक मात्र फिल्म ‘उमा’ बक्स  अफिसमा पछारियो ।

 

यस्तै उध्रेको चोलीको आइटम डान्सबाट ह्वात्तै माथि आएकी नायिका सुस्मा कार्की अहिलेसम्म पनि त्यही उध्रेको चोलीमै टिकिरहेकी छन् । यद्पी सत्तरी सालमा उनका केही फिल्म रिलिज भएका थिए । तर प्रदर्शन भएका सबै फिल्महरुले लगानी सुरक्षित गर्न सकेनन् । अभिनेत्री रेजिना उप्रेती सत्तरी सालमा हलमा देखिइनन् । बरु उनले आफ्ना प्रेमीसँग लगनगाँठो कसेर भविष्य सुरक्षित पार्ने बाटो अपनाइन् ।

२०७० सालमा जे जति फिल्म ब्लकबस्टर या सुपरहिट भए ती फिल्ममा पनि हिरोहरुको अस्तित्व संकटमा नै परेको देखियो । संख्यात्मक हिसाबमा आर्यन सिग्देलका यो साल थुप्रै फिल्म रिलिज भए तर तर उनका कुनै पनि फिल्मले पानी समेत मागेनन् । वर्षको सुरुमै रिलिज हुने ‘नोभेम्वर रेन’को हालत पनि यस्तै भयो भने सम्भवतः नेपाली फिल्म उद्योगमा उनका दिनगन्ति सुरु हुनेछन् ।

 

०६९ सालमा लक्की नायकका रुपमा चिनिएका जीवन लुईटेललाई सत्तरी सालमा भने ‘लक’ लागेन भन्दा पनि हुन्छ । अभिनेता राजबल्ल्भ कोइरालाको पनि सत्तरी सालमा तीन चार वटा फिल्म प्रदर्शनमा आए । हिरो भएर खेलेका फिल्महरु नचलेपनि भिलेन भएर खेलेको ‘छ एकान छ’ भने राम्रो चल्यो । फिल्म हेरुञ्जेल राजबल्लभको त्यो अभिनयलाई सबैले मन पराए पनि, तर कमेडी कलाकारको वर्चश्व रहेका कारण राजबल्लभ ‘छ एकान छ’ बाट पनि छायाँमा नै परे ।

 

यस्तै लुटपछि चम्किएका सौगात मल्ललाई पनि सत्तरी सालले ठूलै लोप्पा खुवाइदिएको छ । सत्तरी सालमा सौगातका कुनै पनि फिल्महरु सोचे जस्तो चलेनन् । यस्तै भयो भयो अर्का कलाकार दयाहाङ राईको पनि । दयाहाङका कुनै पनि फिल्मले फुल पार्न सकेनन् । ठिकै चलेको ‘झोले’बाट भने दयाहाङ प्रशंसा बटुले ।  त्यस्तै अर्का नायक किशोर खतिवडाले अभिनय गरेको फिल्म ‘काली’ त चल्यो तर ‘काली’ को सारा क्रेडिट काली रेखाले नै लगिन् ।

 

यस्तै रेखाकै अर्को हिरोका रुपमा चिनिएका सविन श्रेष्ठ पनि सत्तरी सालमा नउदाएका भने होइनन् । तर सत्तरी सालमा सविनको दमदार उपस्थिति कही कतै देखिएन । रेखासँगै सविनले खेलेको यो वर्ष प्रदर्शन हुने फिल्म ‘दमदार’ले भने सविनको करिअरलाई प्लस गर्ने केही आशा छ । यस्तै गायकबाट नायक बनेका दुई गायक यश कुमार र बाबु बोगटी पनि सत्तरी सालमा देखा त परे तर कुनै प्रभाव छोड्न सकेनन् । सत्तरी सालमा अरु थुप्रै नायक तथा नायिकाहरुका फिल्महरु पनि नदेखिएका भने होइनन् तर सबै नै आयाराम गयाराम  भए ।

 

०७० सालले अनगिन्ती कलाकारलाई जन्म दिएको छ । तर सत्तरी सालमा आएका सबै कलाकारको भविष्य उज्जवल हुने कुरामा भने ठोकुवा गर्न गाह्रै पर्छ । तथापी तर केही कलाकारमा भने पशस्त सम्भावना देखिएको छ । गौरव पहारी फिल्म ‘मञ्जरी’ मार्फत आए यिनले यसै वर्ष ‘होस्टेल’ मा पनि अभिनय गरे । ‘मञ्जरी’ मा उनको अभिनयको प्रशंसा गरियो भने उनीद्धारा अभिनित ‘होस्टेल’ व्यावसायिक रुपमा सफल रह्यो ।

 

यस्तै ‘साँघुरो’ मार्फत आएका सुशांक मैनालीमा केही आशा गर्ने ठाउँ देखिएपनि उनी मूलधारमा अटाउन सक्छन् सक्दैनन् शंका गर्ने ठाउँ छ । फिल्म ‘मोक्ष’ मार्फत आएका कोशिस क्षेत्रीले भने केही आशा जगाएका छन् । तर ‘मेघा’ मार्फत आएका अभिनेत्री मनिषा कोइरालाका भाइ सिद्धार्थ कोइराला भने चर्चा परिचर्चामै हराए । उता ‘कर्कश’ बाट आएका सुरज सिंह ठकुरीको भने केही व्यस्तता बढेको छ । ‘कर्कश’ पछि ‘नाईं नभन्नु ल २’ मा देखिएका सुरज यतिखेर पनि ‘जंगे’ को शिर्ष भूमिकामा अभिनय गरिरहेका छन् ।

 

‘प्रोड्युसर’ मार्फत हिरो बनेका श्याम अर्याल फिल्म असफल भएका कारण ओझेलमा पर्न पुगे । यस्तै ‘होस्टेल’ मार्फत आएका अनमोल केसीमा भने बाउको बिंडो थाम्न सक्ने कलाकारका रुपमा हेरिएको थियो । तर सम्भावना हुँदाहुँदै पनि अनमोल आफ्नै कारणले पछि परिरहेका छन् । बरु अनमोलसँगै ‘होस्टेल’ बाट आएका सलोन बस्नेत भने अन्य फिल्महरुमा व्यस्त देखिन थालेका छन् । यस्तै ‘बितेका पल’ बाट आएका अभिनाष गुरुङ र ‘वाउन्सर’ बाट आएका प्रशान्त गिरी र ‘अन्तराल’ बाट आएका मानव सुवेदी पनि आयाराम गयाराम मै सिमित हुने देखिएका छन् ।

यस्तै सत्तरी सालमा ‘मञ्जरी’ मार्फत प्रवेश गरेकी सुजाता कोइरालामा प्रशस्त सम्भावना हुँदा हुँदै पनि चल्न सकिरहेकी छैनन् । तर ‘अन्तराल’ मार्फत आएकी अशिष्मा नकर्मी भने यतिखेर पनि केही फिल्महरुमा व्यस्त नै देखिएकी छिन् । अशिष्मा सँगै ‘अन्तराल’ मा देखिएकी नम्रता म्यूजिक भिडियो मै व्यस्त छिन् ।  यस्तै ‘ऋतु’ मार्फत आएकी पूर्व मिस नेपाल मलिना जोशीको सम्भावना त देखिएको छ तर उनको त्यो सम्भावना भने त्यति सवल बन्न भने सकिरहेको छैन् ।

 

सत्तरी सालमा ‘राजनीति’ फिल्म मार्फत गायिका कोमल वली अभिनयमा प्रवेश त गरिन् तर जति चर्चा ‘राजनीति’ को रिलिज अघि थियो रिलिज पछि त्यो चर्चा त्यसै सेलाएर गयो । द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीकी अर्की छोरी रोमी खड्गी ‘नथिङ’ इम्पोसिवल’ बाट आइन् तर उनलाई दोहोर्याउन फेरी राजेन्द्र खड्गीले नै फिल्म बनाउनु पर्ने हुन्छ । त्यस्तै छविको ‘लोफर’ बाट उदाएकी रजनी केसी ‘लोफर’ फ्लप भए सँगसँगै अस्ताएकी छिन् । ‘मधुमास’ बाट प्रवेश पाएकी पूजा शर्मा पनि रजतपटमा चम्किने लक्षण देखिएको छैन । यद्पी सुदर्शन थापा हिरो तथा निर्माता भएको फिल्म ‘अझै पनि’ मा भने पूजा दोहोरिएकी छिन् ।

 

२०७० हजार सत्तरी सालमा प्रदर्शनमा आएका फिल्महरुमध्ये सर्वाधिक चलेका फिल्महरुका निर्देशकहरुलाई नै ०७० सालका अब्बल निर्देशक मान्नु पर्ने हुन्छ । यसअर्थ ‘काली’ का निर्देशक सविर श्रेष्ठ तथा ‘छ एकान छ’ का निर्देशक दिनेश डिसी सत्तरी सालका ब्ल्कबस्टर निर्देशक हुन् । तर ‘काली’ रेखाका कारण चलेको भन्नेहरु नै धेरै छन् भने ‘छ एकान छ’ कमेडी कलाकारको बाहुल्यताका कारण चलेको भन्ने धेरैको ठम्याई छ । तरपनि क्याप्टेन भनेको क्याप्टेन नै हो ।

 

सविर र दिनेश सत्तरी सालका ‘डाइरेक्टर अफ द् इयर’ भन्दा फरक नपर्नु पर्ने हो तर वर्षको अन्त्यमा आएर रिलिज गरिएको फिल्म ‘नाईं नभन्नु ल २’ ले सुरुवतमै रेकर्ड तोड विजनेश गरेका कारण र सो फिल्मका सर्वेसर्वा विकास आचार्य स्वयम् भएका कारण सविर र दिनेशलाई विकासले उछिनेका छन् । यसअर्थ विकास नै सत्तरी सालका अब्बल निर्देशक ठहरिन पुगेका छन् । यसअघि ०६९ सालमा पनि फिल्म ‘रिदम’ का कारण विकास नै ‘डाइरेक्टर अफ द् इयर’ बनेका थिए ।

 

गत वर्ष विकासपछि अब्बल निर्देशकको सूचिमा अटाएका सुरज सुब्बा नाल्बो भने सत्तरी सालमा चिप्लिएका छन् । यस्तै कुनै बेलाका हिट डाइरेक्टर मानिने दिपक श्रेष्ठलाई पनि सत्तरी साल फापेन । दिपकलाई ‘रंंग वे’ ले चुर्लुम्म डुबाइदियो ।  यस्तै निर्देशक शोभित बस्नेत, अर्का निर्देशक दयाराम दाहाल, कमलकृष्ण, राजु गिरी लगायतका एक दर्जन जति निर्देशकहरुलाई पनि सत्तरी सालको बाढीले बगाएको छ । तर निर्देशक शोभित बस्नेत र अर्का निर्देशक कमलकृष्ण भने हिन्दी फिल्मको डाइरेक्सन गर्ने भनेर गफ दिएकै भरमा वर्ष भरी नै चर्चा भने बटुले ।

 

नव प्रवेशी निर्देशकहरुमा भने ‘अन्तराल’ बाट प्रवेश गरेकी दीपा बस्नेतको बारेमा केही आशा गर्ने ठाउँ छ ।  उनको कामको समिक्षकहरुले राम्रै प्रशंसा गरेपनि उनको चलचित्रले भने सफलता हासिल गर्न सकेन । यस्तै ‘कर्कश’ बाट आएका आशिफ शाहलाई पनि सम्भावना बोकेको निर्देशकका रुपमा चित्रण त गरियो तर कम बजेटमा बनेको फिल्म ‘कर्कश’ ले त्यो कम बजेट पनि उठाउन सकेन ।

 

‘साँघुरो’ का जोयश पाण्डे, ‘मौन’ का सुरज भूषाल, ‘प्रोड्युसर’ का जनकदिप पराजुली, ‘मेघा’ की सम्झना रौनियार, ‘फिटकिरी’ का अनुप बरालमाथि पनि थुप्रैले आशा गरेपनि त्यो आशा फिल्मको व्यापारले निराशामा परिणत गरिदिएको छ । तर ‘होस्टेल’ बाट आएका हेमराज विसी व्यावसायिक सफल निर्देशक भए भने ‘झोला’ मार्फत प्रवेश गरेका सञ्चारकर्मी यादव भट्टराईको प्रशंसा पनि राम्रै गरियो । यस्तै ‘मोक्ष’ मार्फत आएका प्रविन श्रेष्ठ समिक्षाकहरुको आँखामा अब्बल ठहरिएपनि प्रविनको फिल्म व्यापारिक हिसाबमा अब्बल ठहरिएन । यस्तै ‘लोफर’ बाट आएका आदित्य विक्रम लम्साल फिल्म असफल भएपछि थप पढ्नका लागि भन्दै अमेरिका उडेका छन् ।



२०७० सालमा रिलिज भएका फिल्महरुको संख्यालाई हेर्दा र एउटा चलचित्रमा सरदर तीन वटा गीत मात्रै राखिदा पनि लगभग चार सय जति गीतहरु बनेको अनुमान लगाउन सकिन्छ । तर ती चार सय गीतहरुमा चार वटा गीत पनि चल्न धौ-धौ परेको देखियो । फिल्म ‘काली’ जति चल्यो ‘काली’ ‘स्लोली स्लोली’ बोलको यो गीत बढी चल्यो । यस्तै ‘विन्दास २’ को गीत ‘सुन्छु तिमीले मलाई’ भन्ने गीतलाई पनि दर्शक श्रोताले रुचाएको देखियो ।

 

सत्तरी सालको अन्त्यतिर आएर रिलिज भएको फिल्म ‘नाइँ नभन्नु ल २’ का गीत संगीतले भने राम्रैसँग बजार ततायो । ‘यी आँखामा तिमी छौं’ र ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलका गीतहरुलाई दर्शक तथा श्रोताले औधी मन पराएको पाइयो । गीतको भिडियो हेर्ने र सिआरविटी राख्नेहरुको संख्या पनि सानो छैन । ‘नाईं नभन्नु ल २’ का गीतहरुबाट बाल गायक प्रेम परियारको स्वरको पनि निकै प्रशंसा गरियो ।

 

फिल्म ‘काली’ को ‘स्लोली स्लोली’ र ‘नाईं नभन्नु ल २’ को ‘यी आँखामा तिमी छौं’ गीतका कारण वर्ष २ हजार सत्तरी सालमा संगीतकार बसन्त सापकोटा नम्वर वान संगीतकार बन्न पुगे भने अन्य संगीतकारहरुमा हरी लम्साल, अर्जुन पोखरेल, टंक बुढाथोकी र शम्भूजित बाँस्कोटाले पनि आफ्नो अस्तित्व जोगाउन सफल भएका छन् ।

 

अभिनेत्री रेखा थापाले आफ्नो निर्माणधिन फिल्म ‘हिम्मतवाली’ का निर्देशक श्याम भट्टराईलाई लात हानेर सुटिङ स्थलबाट निकालेको प्रसंग नै सत्तरी सालको प्रमुख घटना बन्न पुगेको छ । ०७० सालमा घटेका घटना परिघटनाको कुरा गर्दा सत्तरी सालमा सम्पन्न दोश्रो संविधान सभाको निर्वाचनको विषयलाई बिर्सन मिल्दैन । उक्त निर्वाचनमा फिल्मकर्मीहरुले पनि जोडतोडका साथ आ-आफ्नो सहभागीता जनाए ।

 

निर्माता तथा हल सञ्चालक उद्धव पौडेल त राप्रपा नेपालको तर्फबाट उम्मेरदवार नै बने । फिल्म क्षेत्रका प्रायः सबै कलाकर्मीहरु नै उद्धव पौडेललाई जिताउन लागि परे । तर कसैको केही लागेन । अन्ततः उद्धव पौडेलको जमानत जफत भयो । उद्धव पौडेलले जस्तै अभिनेत्री रेखा थापाले पनि एमाओवादीको टिकट पाइन् । तर रेखाको टिकट प्राप्ती केटाकेटीले भाँडाकुटी खेले जस्तै भयो । चुनावमा उठ्ने मान्छेको मतदाता लिस्टमा नामै रहेनछ । अभिनेता भुवन केसीको पनि रेखाको जस्तै भयो । टिकट पाएको बाह्र घण्टा पनि नबित्दै भुवनले टिकट गुमाए । तथापि समानुपातिक कोटामा पर्ने आशामा भुवन एमाले नेताहरुको अघिपछि कार्यकर्ता झै घुमिरहे । तर त्यसमा पनि भुवनले धोका नै पाए ।

 

चुनावमा उठेर मन्त्री बन्ने चाहना पूरा नभएपछि रेखा समाजसेवातिर लागिन् । उनले रेखा थापा फाउन्डेसनको स्थापना गरिन् र सुदुर पश्चिम क्षेत्रबाट चार जना राउटे बच्चाहरुलाई ल्याएर लालनपान र पठनपाठनको चाँजोपाँजो मिलाइदिएकी छन् । अभिनेत्री करिश्मा मानन्धरसँगै र त्यसपछि आएका अनगिन्ती अभिनेत्रीहरु ९५ प्रतिशत अभिनेत्रीहरु कता हराए या के गर्दैछन् कसैलाई भेउ छैन । तर करिश्मा अझैपनि उत्तिकै सक्रिय देखिएकी छिन् । सभा समारोहदेखि साँँस्कृतिक कार्यक्रमहरुमा सहभागी भएरै पनि करिश्माले आफ्नो नामलाई जोगाइ राख्न भ्याएकी छन् ।

 

सत्तरी सालमा नेपाली फिल्म क्षेत्रले दुई व्यक्तिलाई गुमाउन पुग्यो । दुवै मृगौलाले काम गर्न छोडेपछि निर्देशक शिव रेग्मी उमेर नपुग्दै अस्ताए भने मेरुदण्डमा गम्भिर समस्या देखिएपछि पुराना मेकअप आर्टिस्ट साम्भा डि पाटिल पनि ०७० मै हामीमाझ रहेनन् । वर्ष सत्तरी सालमा जे जस्ता नराम्रा र दुःखद घटना घटे ०७१ सालमा नहोहोरिउन् । राम्रा पक्षले निरञ्तरता पाउन् फिल्मीखबर डटकम परिवार हार्दिक कामना गर्दछ ।