मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`डेब्यू` कलाकारको फितलो प्रवेश !

फिल्मीखबर, काठमाण्डौ, 2014/04/12

२०७० सालमा नव कलाकारको प्रवेश दमदार हुन सकेन । आशा गरिएका नव कलाकार सुस्ताए । प्रवेशमै सुस्ताएका नव कलाकारले अब्बल सावित गर्दै आफुलाई अगाडी बढाउन सकेनन् । वर्ष सत्तरीमा प्रवेश भएका एकाध कलाकार मात्रै रजतपटमा सक्रिय भए ।

 

बर्षको शुरूवातमा रिलिज भएको फिल्म 'मञ्जरी'बाट डेब्यू गरेकी सुजाता कोईरालाको सक्रियता देखिएको छिन । तर, सोही फिल्मबाट डेब्यू गरेका अभिनेता गौरव पहारी भने व्यस्त बनेका छन् । उनले फिल्म क्षेत्रमा राम्रो भविष्य देखाएका छन् । गौरबको दोस्रो फिल्म 'होस्टेल' व्यवसायिक रूपमा सफल भएसँगै उनको अभिनय यात्रा पनि व्यस्ततामा अगाडी बढिरहेको छ । 'उत्सव' फिल्ममा अभिनय गरेका गौरव हाल 'अधकट्टी' फिल्मको सुटिङमा व्यस्त छन् ।
 

 

‘होस्टेल’ फिल्म व्यावसायिक रुपमा हिट बन्यो । तर, बुवाको बिंडो थाम्ने भनी विश्लेषण गरिएका अभिनेता भुवन केसीका पुत्र अनमोल के.सीको सक्रियता ‘होस्टेल’ पछि शून्य रह्यो । अभिनय क्षमता र लुक्स राम्रो हुँदाहुँदै ‘रिजर्भ’ स्वभावका कारण अनमोल फिल्मबाट टाढा हुन पुगे । बरु ‘होस्टेल’मा सह-भूमिका निभाएका सलोन बस्नेत, प्रकृति श्रेष्ठ र रिस्ता बस्नेतले म्यूजिक भिडियो सँगै फिल्ममा अभिनयको मौका पाए ।

 

सेक्स साइक्लोजीको फिल्म ‘साँधुरो’बाट सुशांक मैनालीले रजतपटमा डेव्यु गरे । फिल्मै नचलेपछि कुशल अभिनय क्षमता भएका सुशांक त्यती चर्चामा आएनन् । उद्पी सुशांकले निश्चल बस्नेतको दोस्रो फिल्म ‘टलकजंग भर्सेस टुल्के’ मा अभिनयको अवसर पाए । त्यस्तै ‘मेरो मनको साथी’बाट जस्मिन श्रेष्ठले वर्ष सत्तरीमा नायिकाको रुपमा डेव्यु गरिन् । रजतपटमा जस्मिनको सुगन्ध फैलिएन ।

 

आफुसँगै ‘अन्तराल’ फिल्मबाट निर्देशक दिपा बस्नेतले थुप्रै कलाकारलाई रजतपटमा डेव्यु गराइन् । ‘अन्तराल’ मा मानव सुवेदी र नम्रता सापकोटाले मुख्य भूमिका निभाएका थिए । वर्षभरी नै फिल्ममा मानव र नम्रता रजतपटमा निस्क्रिय रहे । बरु सह-भूमिका निभाएकी अशिष्मा नकर्मी व्यस्त देखिइन् । ‘अन्तराल’ पछि ‘तोरी लाहुरे’, ‘राघव’, ‘मझेरी’, ‘वुद्ध वर्न इन नेपाल’ र छायाँकनरत फिल्म ‘अधकट्टी’ मा अशिष्माले अभिनय गर्ने मौका पाइन् ।

 

भिजे तथा म्यूजिक भिडियो निर्देशक सुरज सिंह ठकुरी ‘कर्कश’ फिल्मबाट वर्ष सत्तरीमा रजतपटमा डेव्यु गरे । ‘जंगे’ को शिर्ष भूमिकामा अभिनय गरिरहेका सुरजले प्रदर्शनरत फिल्म ‘नाइँ नभन्नु ल २’ मा बुवाको भूमिका निभाएका छन् । उनको सक्रियता मध्यम देखिएको छ ।

 

सीमा के.सी ‘युज’ फिल्मबाट ०७० सालमा रजतपटमा भित्रिइन् । ‘एडल्ट’ फिल्मकी सीमा पनि फूल फुलाउन नसक्ने नायिकामा गनिन पुगिन् । यसै वर्ष अरुणीमा लामा एडल्ट फिल्म ‘किन किन’बाट रजतपटमा भित्रिइन् । पर्दामा ‘नेकेड’ दृश्य दिएकी अरुणीमा पनि फूल फुलाउन नसक्ने नायिकामा गनिइन् । त्यस्तै आफ्नै लगानीमा ‘वाउन्सर’ फिल्म बनाएर हिरो बनेको प्रशान्त गिरी पनि ‘नोटिस’ भएनन् ।

 

लोकदोहोरी गीतको भिडियोमा नाच्ने अन्जु निर्रौला ‘हाम्री चेली’ मार्फत वर्ष सत्तरीमा हिरोइन हुन आइपुगिन् । फिल्मै नचलेपछि अन्जु अन्य फिल्म अटाइनन् । अन्जु लोकदोहोरीमै फर्किइन् । ‘ढुवानी’ फिल्मबाट सगुन शाहीको डेव्युले कुनै अर्थ राखेन । ‘प्राण भन्दा प्यारो’ बाट वासु पुँडासैनी र अनमीका चौलागाइँको डेव्यु अर्थ न बर्थको भयो ।

 

गायनमा चम्किएकी कोमल ओलीको 'राजनीति' फिल्मबाटको प्रवेशले न उनलाई फाईदा पुर्‍यायो न निर्मातालाई । उनको आगामी अभिनय करियर अगाडी बढ्ने सम्भावना न्यून नै देखिन्छ । त्यस्तै ‘नशा’ फिल्ममा बलिउडकी पूनम पाण्डेले तस्बिर खिचाए शैलीमा आधा नाङ्गो तस्बिर खिचाएर ‘विन्दास २’ मार्फत अनिशा गुरुङ सत्तरी सालमा रजतपटमा भित्रिइन् । अनिशाको उक्त तस्विरले आलोचना बाहेक केही गरेन ।

 

अब्बल अभिनयमा प्रस्तुत गरेका सिवाङ्गिनी राणा र मनोज आरसी पनि ‘मधुमास’ व्यावसायिक रुपमा सफल नभएपछि छायाँमा परे । रेखा थापालाई रिप्लेस गर्ने भनेर प्रचार गरिएकी रजनी केसी ‘लोफर’ फ्लप भएसँगै शून्य चर्चामा पुगिन् । पहिलो गाँसमै ढुङ्गा लागेकी रजनीले निर्माता छवि ओझाको सिफारिसमा नारायण रायमाझीको ‘प्रवास’ फिल्म पाएकी छिन् ।

 

गायक कोसिश क्षेत्री ‘मोक्ष’ फिल्मबाट नायक बने । तर, ‘मोक्ष’ को व्यापार सोचेनुरुप हुन नसक्दा कोशिस चम्कन सकेनन् । यद्पी कोसिशले मह जोडीसँग ‘घेराबन्दी’ फिल्ममा अभिनय गर्ने अवसर पाएका छन् । त्यस्तै अभिनेत्री मनिषा कोइरालाका भाई सिद्धार्थ कोइराला ‘मेघा’ फिल्म मार्फत सत्तरी सालमा नेपाली फिल्ममा प्रवेश गरे । सिद्धार्थको प्रवेशले नेपाली फिल्मका लागि कुनै अर्थ राखेन ।

 

पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु’ फिल्मबाट सत्तरी सालमा अभिनेत्री बनिन् । मलिनाको अभिनयलाई मन पराइएपनि ‘ऋतु’ राम्रो नबन्दा मलिनाको चम्किलो चमक हुन सकेको छन । यधापी मलिनाको व्यस्तता भने ०७१ सालमा बढ्ने देखिन्छ । ‘झेली’ नामक फिल्मबाट भित्रिएकी सुरविना को हुन् ? दर्शकले चिन्दैनन् । 'प्रोड्यूसर' फिल्मबाट अभिनेता बनेका सञ्चारकर्मी श्याम अर्याल पनि व्यवसायिक असफलतामा च्यापिएसँगै चर्चामा आउन सकेनन् ।

 

वर्ष सत्तरीमा थुप्रै हिरो, हिरोइन बन्न आए । लगानी लगाएर र कथाले मागेजति दिन्छु भन्दै हिरो हिरोइन बन्छु भनेर आएका कति त नोटिस नै हुन सकेनन् । ०७० को अन्त्यमा ‘नाइँ नभन्नू ल २’ बाट बर्षा सिवाकोटी रजतपटमा भित्रिएकी छिन् । बर्षाको आगामी करियर कस्तो होला ? बर्ष ०७१ सालले देखाउने छ । यसै फिल्मबाट बालकलाकारको रूपमा उदाएकी सुज्ञानी भट्टराईको सम्भावना भने राम्रो देखिएको छ ।