काठमाडौं । ‘दले दाइ’को रूपमा परिचित हास्य कलाकार सुमन कोइरालाको डेब्यू फिल्म ‘तिरिमिरी झ्याइँ’ माघ २८ गतेबाट प्रदर्शनमा आउने भएको छ । आइतबार लक्ष्मी पूजाको अवसरमा फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराइएको हो । फिल्मले तय गरेको मितिमा सरस्वती पूजाको सार्वजनिक विदा परेको छ ।
फिल्मको पोस्टरमा सुमनसहित आभास अधिकारी, सुमन कोइराला, रियर राई, सुरज चौलागाईं र सरोज अर्याल देखिएका छन् । उनीहरू जेलजस्तो देखिने फलामे बारभित्र कैद छन् । उनीहरूको हाउभाउ र भावभंवीले फिल्म पूर्ण रूपमा हास्यप्रधान रहेको संकेत गर्छ । फिल्मको पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले तयार पारेका हुन् ।
समीरको निर्देशनमा बनेको फिल्ममा धिरेन शाक्य, राज न्यौपाने, जय राम ढकाल, राजश्री थापा, घनश्याम जोशीलगायतका कलाकारको पनि अभिनय छ । फिल्मको कथा तथा अवधारणा आभास अधिकारीको हो भने पटकथा र संवाद गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले तयार पारेका हुन् ।
होराइजन मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा विशाल कक्षपतिको छायांकन, अभिषेक कार्कीको संगीत तथा सियोन श्रेष्ठको कोरियोग्राफी छ । फिल्मका निर्माता प्रद्युम्न बोगटी (प्रवीन) हुन् । आभास अधिकारी कार्यकारी निर्माताका रूपमा छन् । सह–निर्माताहरूमा भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, दिनेश श्रेष्ठ र अनिल शर्मा रहेका छन् ।

