मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बर्ष ०७० मा नाङ्गो फिल्मको व्यापार पनि नाङ्गियो

फिल्मीखबर, काठमाण्डौ, 2014/04/11

एडल्ट फिल्मलाई २०७० साल फापेन । विषयवस्तु, संवाद र दृश्यलाई आधार बनाएर चलचित्र जाँच पास समिति (सेन्सर वोर्ड)ले एडल्ट अर्थात् १६ वर्ष मुनिका बालबालिकालाई हेर्न मनाही गरेका अधिकांश फिल्म व्यवसायिक रुपमा फ्लप बने ।

 

एडल्ट मध्ये ‘साँघुरो’ मात्रै समिक्षा गर्न लायकको फिल्म बन्यो । ‘साँघुरो’ हुँदै सुरु भएको एडल्टको वर्ष ०७० ‘रङ वे’ र ‘डिभोर्स’ मा आएर सकियो । सुकुम्बासी बस्तीको साँघुरो कोठामा आमासँगै बस्ने दम्पतीको यौन कुण्ठालाई नव निर्देशक जोयश पाण्डेले ‘साँघुरो’मा देखाउन खोजेका थिए ।

 

अघिल्लो एडल्ट फिल्म ‘पलपलमा’ जस्तै नाफा कमाउने दाउ छोपेर ‘किन किन’ निर्देशन गरेका उकेश दाहाल दोस्रो एडल्ट फिल्मबाट भने जिल्लिए । राजेश हमाल र करिश्मा मानन्धरलाई हट अवतारमा प्रस्तुत गरेका उकेशको ‘किन किन’ घाटामा गयो । पर्दामा ‘नेकेड’ दृश्य दिएकी अरुणिमा लामाको चर्चा लामो समयसम्म भएन । अरुणिमा कहाँ छिन् ? कुनै पत्तो छैन ।

 

समाजमा अश्लिलता फैलाउने भन्दै एडल्ट ‘बर्बाद’ फिल्मको प्रदर्शनीमा रोक लगाउन सेन्सर वोर्ड बाध्य भयो । दृश्य तथा संवादलाई सम्पादन गरेर प्रदर्शनमा ल्याएका निर्माता व्यवसायिक रुपमा बर्बाद बने । अघिल्लो बर्ष दुई दिन चलेर रोकिएपश्चात यो बर्ष पुन: प्रदर्शनमा आएको फिल्म 'एटिएम'ले पनि पैसा निकाल्न सकेन ।  यो फिल्ममा अश्लिल बनेका अभिनेत्रीले समेत गतिलो छाप छोडेनन् ।

 

अभिनेत्री सुमिना घिमिरेले वर्ष ०७० मा एडल्ट फिल्ममा ह्याट्रिक हानिन् । सुमिनाका तीन फिल्म ‘अप्रिल फूल, ‘लभ फरेभर’ र ‘स्टार’ ले एडल्ट प्रमाण पत्र पाए । वर्ष सत्तरीमा सुमिना र सुमिनाका एडल्ट फिल्म फ्लप बन्न पुगे । ‘दुलही’ बाट सोभर गर्लको छवि बनाएर रजतपटमा भित्रिएकी सुमिना एडल्ट फिल्मकै कारण निर्माता तथा निर्देशकको आँखामा पर्न छोडिन् ।

 

सुमिनासँगै सुष्मा कार्कीको एडल्ट फिल्म ‘विन्दास २’ ले पनि सत्तरी सालमा विन्दासको व्यापार गर्न सकेन । ‘विन्दास’बाट नाफा हात पारेका निर्माता मधुकुमार श्रेष्ठले ‘विन्दास २’ बाट लगानीको झन्डै आधा रकम डुबाउन पुगे । ‘विन्दास २’बाट अभिनेता जिवन लुँइटेललाई कुनै फाइदा पुगेन । ‘खेताला’, ‘जिगलो’, ‘रोमान्स’, ‘द रेप’, ‘रिङ रोड’, ‘युज’, ‘डिभोर्स’ जस्ता एडल्ट फिल्म हलमा कतिबेला आए र कतिबेला गए ? कुनै पत्तो भएन ।

 

फिल्मी जम्काभेटमा एडल्ट फिल्मका कलाकारले लज्जित महसुश गर्नुपर्ने अवस्था सृजना भयो । फ्लप एडल्ट फिल्मको संख्याले सेक्सी हिरोइन, संवाद र दृश्य राख्दैमा फिल्म चल्छ भन्ने मानसिकता बोक्ने फिल्मकर्मीलाई वर्ष ०७० ले गतिलो सन्देश दिएको छ । सँगै कथाले मागेजति दिएर फिल्म खेल्न राजी हुने कलाकारलाई पनि वर्ष ०७० ले सोच्न बाध्य बनाएको छ ।