निर्माता छवि ओझा पुनः नयाँ हिरोइनलाई फिल्ममा भित्र्याउने चक्करमा लागेका छन् । ‘हिट र हट हिरोइनको खोजीमा छु,’ एक जम्का भेटमा निर्माता ओझाले खुस्काए । खोजे जस्तो 'हिट एण्ड हट' हिरोइन छविले भेट्टाइसकेका छैनन् ।
होम प्रोडक्सनबाट निर्माण हुने नयाँ फिल्मको लागि छविले नयाँ हिरोइनको खोजी गरेका हुन् । आफ्नो ब्यानरका फिल्ममा पूर्वपत्नी अभिनेत्री रेखा थापा लगभग नफर्किने पक्का भएपछि र रेखापछि डेव्यु गराएका रजनी केसी र शिल्पा पोखरेलले रजतपटमा कुनै फूल फुलाउन नसकेपछि छवि नयाँ हिरोइन खोज्ने चक्करमा लागेका हुन् ।
ऋषी लामिछानेले निर्देशन गर्ने छवि ब्यानरको नयाँ फिल्म ‘हवल्दार सुन्तली’मा सम्भवतः नयाँ हिरोइन हुन सक्ने बुझिएको छ । निर्देशक लामिछानेको अप्रोचलाई रेखाले ग्रिन सिग्नल दिएकी छैनन् । छविले खोजेजस्तो हिरोइन नभेट्टिएको खण्डमा ‘लज्जा’ डेव्यु शिल्पा पोखरेल नै ‘हवाल्दार सुन्तली’मा हुन सक्ने देखिएको छ ।
छवि ब्यानरमा फर्कने ‘लोफर’ की रजनी केसीको न्यून सम्भावना रहेको बुझिन्छ । राजेश हमालदेखि श्रीकृष्ण श्रेष्ठ, विपना थापा, रेखा थापा, आर्यन सिग्देल, आयुष रिजाल, किशोर खतिवडा, सविन श्रेष्ठ, पूजना प्रधान, रजनी केसी, शिल्पा पोखरेललाई रजतपटमा डेव्यु गराएका निर्माता ओझाको ब्यानरमा भित्रिने अर्की हिरोइन कस्ती आउलिन् ?

