बर्ष २०७० को अन्तिम समयमा आएर फिल्म 'आधी बाटो'ले निर्मातालाई मात्र हैन फिल्म क्षेत्रलाई पनि केहि राहतको महशुस गरायो । ओपनिङ कलेक्सन राम्रो गरेको यो फिल्मको अन्य दिनको विजनेश पनि राम्रो रहेको बताईएको छ । जसले गर्दा यो फिल्मले हलमा दोस्रो साताको यात्रा तय गरेको छ ।
काठमाण्डौ वितरक गोपाल कायस्थ र उपत्यका बाहिरको वितरक कम्पनी एफडीले 'आधी बाटो'को व्यापार राम्रो रहेको बताए । वितरक कायस्थले अहिलेको अवस्थामा दोस्रो सातामा फिल्म चल्नु खुसीको कुरा रहेको बताए । लगानी उच्च रहेको यो फिल्मले नेपाल र अन्य देशको प्रदर्शनबाट लगानी उठाउने निर्माता रमेश त्वायनाको भनाई छ ।
यश कुमार, जेनिशा केसी, सबिन श्रेष्ठ, अनु शाह, रूवी राणा लगायतको अभिनय रहेको यो फिल्मको बुधबार साँझ राजधानीमा प्रेस शोको आयोजना गरियो । फिल्म हेरेपश्चात उपस्थित फिल्मकर्मी र सञ्चारकर्मीले मेकिङ राम्रो भएको बताउँदै कमर्सियल फिल्म भएकाले दर्शकले रूचाउने बताए । निर्देशक सबिर श्रेष्ठको कामको तारिफ गरेका उपस्थित अतिथी दर्शकले संगीतको पनि तारिफ गरे ।







