Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(19 votes, avg 3.16/5.00)
Text size:-
+
-

हिरोइनको दब्दबामा वर्ष ०७० : हिरोका फिल्म चलेनन्

फिल्मीखबर, काठमाण्डौ, 2014/04/09

नेपाली फिल्म बजारमा फिल्म हिट गराउन हिरो नै चाहिन्छ भन्ने मान्यताले वर्ष सत्तरी सालमा फेल खाएको छ । भुवन केसी, राजेश हमाल, निखिल उप्रेती र विराज भट्टले अभिनय गरेका अधिकांश फिल्मको प्रोमो तथा पोस्टर्समा यी हिरोलाई ‘हाइलाइट’ गरिन्थ्यो । हिरोइनहरुलाई प्रोमो तथा पोस्टर्समा खासै स्थान दिइदैनथ्यो । हिरोको छायाँमा हिरोइन पर्दथे । वर्ष ०७० सालमा भने नेपाली फिल्मी बजारमा हिरोइनको दब्दबा देखिएको छ ।

 

सत्तरी सालमा चल्तीका हिरोका सबै फिल्म व्यापारिक रुपमा असफल भए । फिल्मको व्यवसायिक सफलता र चर्चाका हिसाबले यो वर्ष हिरोको तुलनामा हिरोइन अगाडी देखिए । यो वर्ष प्रदर्शनमा आएका अभिनेता आर्यन सिग्देलका सबै फिल्मले व्यवासयिक असफलता पाए । आर्यन अभिनित ‘महसुश’, ‘दबाब’, ‘लोफर’ र ‘मधुमास’ जस्ता फिल्मले लगानी उठाउन सकेनन् । ‘महसुश’ फिल्मबाट केकीको चर्चा चुलियो आर्यन छायाँमा परे । ‘लोफर’ मा निर्माता छवि ओझाले आर्यनलाई भन्दा नव अभिनेत्री रजनी केसीलाई बढी मिडियामा ल्याउन खोजे जस्तो देखियो ।

 

त्यस्तै गत वर्ष ‘लक्की’ मानिएका अभिनेता जीवन लुइँटेलका लागि यो वर्ष अफाप हुन गयो । जीवन अभिनित फिल्म ‘विन्दास २’ प्रदर्शनमा आयो । फिल्म व्यापारिक रुपमा सफल भएन । ‘लुट’ फिल्मबाट रातारात चम्किएका ‘हाकु काले’ अर्थात् सौगात मल्ल यो वर्ष फ्लप खाए । समिक्षकले रुचाएको फिल्म ‘उमा’बाट अभिनेत्री ऋचा शर्मा हाइलाइट भइन्, सौगात छायाँमा परे ।

 

गत वर्षहरुमा झैं यो वर्ष पनि अभिनेता राजेश हमालका फिल्म फ्लप हुने क्रम जारी रहे । फिल्म भन्दापनि प्रेमिका मधु भट्टराईसँगको बिहेको चर्चाले यो वर्ष राजेश हाइलाइट भए । ‘कोर्ट मार्सल’ नाटक खेलेका राजेशले यो वर्ष ‘हँसिया’ र ‘मुखौटा’ फिल्ममा अभिनय गरे ।

 

चल्तीका हिरोका फिल्म फ्लप भैरहंदा अभिनेत्री रेखा थापाले ‘काली’ फिल्मलाई एक्लै सुपरहिट बनाइन् । सत्तरी सालको ‘फुलपाती’मा प्रदर्शन भएको रेखाको ‘काली’ले लगानीको झन्डै दोब्बर नाफा कमायो । रेखाको ‘काली’ मा हिरो को थिए ? 'स्लोली स्लोली...' गीत हेरेका किशोर खतिवडाको नाम दर्शकले भन्न सकेनन् । ‘काली’को सुपरहिट व्यापार, संविधान सभाको प्रत्यक्ष निर्वाचनमा लड्ने र टिकट फिर्ता, राउटे बच्चा पालेर आमा बन्ने तथा ‘हिम्मतवाली’ को सुटिङ स्थलबाटै निर्देशक श्याम भट्टराईलाई निकालेर रेखा सत्तरी साल भरी नै चर्चा र टिप्पणीको केन्द्रन्दिुमा रहिन् ।

 

अभिनेत्री गरिमा पन्तले अहिलेसम्म नपाएको चर्चा यो वर्ष प्रदर्शनमा आएको फिल्म ‘झोला’बाट पाइन् । व्यवसायिक रुपमा समेत सती प्रथाको फिल्म सफल भएपछि गरिमाको चर्चा चुलियो । गरिमासँगै अभिनेत्री जेनिसा केसीले बाह्र वर्षे फिल्मी करिअरमा नपाएको सफलता ‘आधी बाटो’ फिल्मबाट पाइन् । यश कुमार र सविन श्रेष्ठको मुख्य भूमिका भएपनि ‘आधी बाटो’ युनिटले प्रचार प्रसारमा जेनिसालाई अघि सारेको थियो ।

 

त्यस्तै फ्लप हिरोइनको ट्यागलाई अभिनेत्री प्रियंका कार्कीले सत्तरी सालमा पाखालिन् । ‘झोले’ फिल्मको ब्यापारबाट प्रियंकाले पहिलो पटक सफलताको स्वाद लिइन् । चैत २८ गते प्रदर्शन हुने फिल्म ‘नाइँ नभन्नु ल २’ बाट पनि प्रियंकाले थप चर्चा पाउने अपेक्षा छ । मिस टिन प्रियंकाले यो वर्ष ‘सुन्तली’, ‘आवरण’, ‘श्री ५ अम्बरे’ र ‘हँसिया’ फिल्मको महंगो सेटमा आइटम नृत्य पस्किएर चर्चा बटुलिन् ।

 

अभिनेत्री नम्रता श्रेष्ठ अभिनित ‘मौन’ र ‘मेघा’ले व्यापारिक सफलता पाएनन् । उद्पी नम्रताको अभिनयले तारिफ पायो । फिल्म फ्लप भएपनि उनले यो वर्ष ‘जिन्दावाद’ र ‘ताण्डव’मा मुख्य कलाकार भएर अभिनय गरिन् । ‘महसुश’, ‘बितेका पल’ र ‘मुटु’ ले व्यावसायिक सफलता हात नपारेपनि अभिनेत्री केकी अधिकारीको अभिनयको प्रशंसा सबैले गरे । उनले यो वर्ष पहिलो पटक ‘चारुमती’ नामक नाटकमा अभिनय गरिन् । केकीको अभिनयले उनी अभिनित सबै फिल्मका हिरो छायाँमा परे ।

 

अभिनेत्री नीता ढुङ्गानाले सुपरहिट फिल्म ‘छ एकान छ’ छ जना मुख्य पात्रलाई लिड गर्ने अवसर पाइन् । नीताका यो वर्ष ‘छ एकान छ’ सहित ‘दबाब’ र ‘उर्वशी’ आए । तर यी दुई फिल्म व्यापारिक रुपमा फ्लप बने । ‘ऋतु’ फिल्मबाट अभिनेता राजबल्लभ कोईरालाले प्रशंशा पाएनन् । बरू मिस नेपाल मलिना जोशीले ‘ऋतु’ डेव्यु फिल्मबाटै वाही वाही बटुलिन् । 'ऋतु'बाट नै अभिनेत्री रीमा विश्वकर्माको चर्चा चुलियो ।