बिजुलीबजार स्थित निर्माता सुवास गिरीको कार्यालयमा फिल्म ‘नोभेम्वर रेन’ को अडियो लञ्च कार्यक्रम चल्दै थियो । कार्यक्रमको बिचबाटै अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ फुत्त बाहिर निस्किए । झन्डै पाँच मिनेटपछि आर्यन र नम्रता कार्यक्रम हलमा भित्रिए ।

कार्यक्रमको बिचबाटै आर्यन र नम्रता किन बाहिरिए ? सहभागी सञ्चारकर्मीबिच कानेखुसी चल्यो । एक सञ्चारकर्मीले फ्याट्टै सोधिदिदिए, ‘कार्यक्रम चल्दै गर्दा तपाईंहरु किन बाहिर ? यो प्रश्नले आर्यन हाँसे । नम्रता केही नर्भस जस्तो देखिइन् । माईक समात्दै आर्यनले 'नमु'लाई भमिट गराउन ट्वाइलेटसम्म लगिदिएको उत्तर दिए । 'उनी अलि कमजोर छिन् । त्यसैले सहयोग गरेको मात्र हो,' आर्यनले थपे ।
आर्यनको यो उत्तरले झनै जिज्ञासा पैदा गरायो । कार्यक्रमको बिचमै नम्रतालाई किन भमिट भयो ? कार्यक्रम हलबाट बाहिरिदै गर्दा नम्रताले सुटिङको चापले गर्दा आफ्नो स्वास्थ्य ठिक नभएको बताइन् । वैशाख १२ गते प्रदर्शन हुने फिल्म ‘नोभेम्वर रेन’ की नम्रता हाल ‘ताण्डव’ फिल्मको सुटिङमा व्यस्त छिन् ।

