Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.20/5.00)
Text size:-
+
-

`गोरो छाला हेर्ने फ्यान हैनन्` : आर्यन सिग्देल

फिल्मीखबर, काठमाण्डौ, 2014/04/08

गोरो छाला र शारीरिक वनावट मात्रै हेर्नेलाई फ्यान नभन्ने अभिनेता आर्यन सिग्देलले बताएका छन् । वैशाख १२ गते प्रदर्शन हुने ‘नोभेम्वर रेन’को प्रेसमिटमा अभिनेता सिग्देलले भने, ‘मेरो काम र फिल्मप्रतिको लगावले गर्दा म आर्यन सिग्देल भएको हुँ । गोरो छाला मात्रै हेर्नेलाई म प्रशंसक भन्न रुचाउँदिन ।’

 

बिहे गरेपछि फ्यान घट्न सक्ने जिज्ञासामा अभिनेता सिग्देलले भने, ‘म सबैको फ्यान हुँ । मलाई सानो बालकदेखि आन्टीसम्मले रुचाउनु हुन्छ ।’ बिहेपछि प्रदर्शन हुने फिल्म ‘नोभेम्वर रेन’लाई आफ्नो बिहेले कुनै असर नगर्ने आर्यनले बताए । वैशाख ६ गते सपना भण्डारीसँग आर्यनले लगनगाँठो कस्दैछन् ।

 

आर्यनकी ‘नमु’ अर्थात ‘नोभेम्वर रेन’की जोडी नम्रता श्रेष्ठले भने आर्यनले बिहे गर्ने कुरामा आफू खुसी भएको भन्दै उनलाई बिहेमा सजाउने चाहना रहेको बताइन् । अडियो लञ्च कार्यक्रममा नम्रताले भनिन्, ‘उसलाई यतिबेला एउटा साथीको आवश्यक छ । यो बेला म उसलाई हरेक किसिमको सहयोग गर्न तयार छु ।’

 

 

 

आर्यन र नम्रता दुवैले फिल्म सोच अनुसारको बनेको बताए । त्यस्तै कार्यक्रममा निर्माता सुवास गिरीले नेफ्टा अवार्डमा मलेसिया लैजान्छु भनेर झुक्याइएका सञ्चारकर्मीप्रति क्षमा माग्दै त्यसमा आफ्नो दोष नभएको बताए । उनले भने, ‘मैंले मलेसियाको व्यवस्थापकिय जिम्मा मात्रै लिएको हुँ । कलाकार र सञ्चारकर्मीलाई लैजाने जिम्मा प्राविधिक संघको थियो ।’

 

पहिलो फिल्म ‘हो यही माया हो’ मा देखिएका कमजोरीलाई ‘नोभेम्वर रेन’ मा सुधारिएको सुवासले बताए । कार्यक्रममा प्रविशा अधिकारी र युवराज चापागाइँले ताराप्रकाश लिम्बुको संगीतमा सजिएको एक-एक वटा गीत गाएर सुनाएका थिए । फिल्मकी अर्की मुख्य पात्र छुल्ठिम गुरुङ भने कार्यक्रममा सहभागी भएकी थिइनन् ।

 

 

त्यस्तै संवाद लेखनमा उब्जिएको सामिप्य तिमल्सिनासँगको विवाद सल्टिएको छ । निर्माता सुवास गिरी, निर्देशक दिनेश राउत र निर्माता तथा अभिनेता आर्यन सिग्देलको सहमतीमा संवादमा सामिप्य तिमल्सिनाको नाम राखिएको छ ।