Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

यी कारणले चल्न सक्छ `नाईं नभन्नु ल २`

अर्पण ढकाल, धरान, 2014/04/08

गत शुक्रबार रिलिज भएको फिल्म `आधी बाटो`ले राम्रो व्यापार गरिरहँदा आगामी शुक्रबारबाट प्रदर्शन हुने क्रममा रहेको फिल्म 'नाई नभन्नु ल २'ले बर्ष २०७० साललाई सुखद रूपमा विदाई गर्ने लक्षण देखाएको छ । देशभरका झण्डै ४ दर्जन हल र अष्ट्रेलियाबाट एकसाथ प्रदर्शनमा आउने यो फिल्मलाई तल उल्लेखित कारणले चल्न सक्ने अनुमान लगाईएको छ ।
 

निर्देशक विकास आचार्यका यसअघिका फिल्म 'नाईं नभन्नु ल', 'रिदम' गीत हिट भएका कारणले चलेका थिए । त्यसैले 'नाईं नभन्नु ल २'को पनि गीत हिट भएको हुनाले चल्न सक्ने अनुमान लगाईएको छ । पारिवारिक कथामा दर्शकलाई बाँध्न सक्ने क्षमता राख्ने विकासले यसपटक पनि पूर्णरूपमा पारिवारिक फिल्म बनाएका छन् । साथमा उनको बालप्रेम प्रस्तुतीलाई पनि दर्शकले रूचाउने अपेक्षा गरिएको छ ।
 

निर्देशक आचार्य भन्छन्, 'देशभरका हलले मेरै फिल्म मात्र लगाउने कुरा गरिरहेका छन् ।' फिल्मको चर्चा राम्रो भएको हुनाले डिमाण्ड पनि निकै बढेको छ ।' अहिले हल सञ्चालकहरू 'नाईं नभन्नु ल २' लगाउन तछाड मछाड गरिरहेका छन् । पूर्वका प्राय हलमा 'नाईं नभन्नु ल २' नै लाग्दैछ । 'यो हलवाला कै डिमाण्ड हो,' दमकमा फिल्मीखबरसँग कुरा गर्दै निर्देशक आचार्यले भने ।
 

केहि दिन अगाडी मात्र निर्देशक आचार्यले दमकको पाथीभारा हलमा 'नाईं नभन्नु ल २'को ट्र्यायल शो गरे । उपस्थित हल सञ्चालक, सञ्चारकर्मी र अन्त आमन्त्रित पाहुनाले फिल्मको तारिफ गरेपछि यो फिल्मले दर्शकको मन छुने विश्वास व्यक्त गरे ।

 

'कलाकारको अभिनय, प्रस्तुती, उच्च स्तरको मेकिङ र गीतले गर्दा फिल्म चल्छ भन्ने कुरामा हामी ढुक्क छौं,' पूर्वका वितरक तथा हल सञ्चालक चैतन्य बरालले भने, 'अश्लिल र सस्तो बजेटको फिल्म लगाउनु परिरहेको अवस्थामा यस किसिमको पारिवारिक फिल्म आउँदा हलमा दर्शक कसो नआउलान् र !'

 

फिल्म चल्न सक्नुको अर्को मुख्य कारण यसका कलाकारहरू हुन् । यसअघि थुप्रै सफल फिल्म दिएका अभिनेता जीवन लुईटेलको उपस्थिती, दर्शकमाझ आफ्नो पहिचान बनाईरहेकी अभिनेत्री प्रियंका कार्की, टेलिभिजनमा आफ्नो छुट्टै पहिचान बनाएका भिजे सुरज सिंह ठकुरी, हाँस्य बिधामा दर्शकको मन जित्दै आएका सिताराम कट्टेल 'धुर्मुस', अभिनयमा खारिएका सरोज खनाल सहित बालकलाकार अनुभव रेग्मी र सुज्ञानी भट्टराईको अभिनयले यो फिल्मलाई छुट्टै उचाई दिएको छ ।