Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.50/5.00)
Text size:-
+
-

गरिमाले खोलिन् गोप्यता

फिल्मीखबर, काठमाण्डौ, 2014/04/08

दर्जन बढी फिल्मबाट नपाएको सफलता अभिनेत्री गरिमा पन्तले कृष्ण धारावासीको एक सय वर्ष अगाडीको सती प्रथाको कृति 'झोला'माथि आधारित भएर निर्माण भएको फिल्म ‘झोला’बाट पाइन् ।  ‘झोला’ फिल्म व्यवसायिक रुपमा समेत सफल भएपछि गरिमाको यतिबेला गरिमा बढेको छ ।

 

‘झोला’ हिट अभिनेत्री यतिबेला ‘ठूली’ नामक फिल्मको छायाँकनमा व्यस्त छिन् । ‘झोला’ कै सफलताका कारण निर्देशक सूर्य बोहोराले गरिमालाई ‘ठूली’को शिर्ष भूमिकामा उभ्याउने निधो गरेका हुन् । सोमबार साँझ फिल्मीखबरकर्मी ठमेलस्थित वियर बारमा पुग्दा गरिमा टेक दिन व्यस्त थिइन् । नृत्य निर्देशक बसन्त श्रेष्ठ गरिमा र अभिनेता जीवन लुइँटेललाई एक्सन कट गर्नमा व्यस्त थिए ।

 

टेक सकेर गरिमा फिल्मीखबरकर्मीसँग गफिन आइपुगिन् । उनले बारमा नाच्ने युवतीको पहिरन लगाएकी थिइन् । उनले लगाउने पहिरनलाई आधार बनाउँदै प्रश्न सोधियो, ठूली त आधुनिक भइछन् ? पसिना पुछ्दै गरिमाले भनिन्, ‘समाजलाई सही मार्गनिर्देशन ‘ठूली’ले गर्छे ।’ बाँकी भूमिका उनले खोल्न चाहिनन् ।

 

फिल्मीखबरकर्मीले गरिमालाई आउँदो शुक्रबार प्रदर्शन हुने (चैत २८ गते) फिल्म ‘मनले मनले मनलाई छुन्छ’ बारे केही भने केही बोल्न आग्रह गर्यो । गरिमाले सुरुमै स्व.निर्देशक शिव रेग्मीलाई सम्झिइन् । स्व.निर्देशक शिव रेग्मीकी प्रिय नायिका गरिमाले भनिन्, ‘मलाई सही मार्गनिर्देशन गर्न शिव सरको मुख्य हात छ । उहाँसँग काम गर्न पाउनु मेरो लागि ठुलो अवसरको कुरो थियो ।’

 

शिव सरले तपाईलाई ‘मनले मनलाई छुन्छ’ फिल्ममा कसरी प्रस्तुत गर्नुभएको छ ? भन्ने प्रश्नमा गरिमाले फिल्ममा आफ्नो महत्वपूर्ण भूमिका रहेको बताइन् । तर कस्तो खालको भूमिका ? भन्ने जिज्ञासामा गरिमाले रहस्य भंग हुने गरी उत्तर दिइन् । उनले भनिन्, ‘फिल्ममा मेरो दोहोरो भूमिका छ ।’ गरिमाको भूमिका बारे ‘मनले मनलाई छुन्छ’ युनिटले हालसम्म केही पनि खुलाएको थिएन ।

 

गोप्यता भंग गरेपछि गरिमा बहकिइन्, ‘फिल्ममा मैले शिक्षित आधुनिक युवती र पिडा सहेर बस्ने युवतीको भूमिका निभाएको छु ।’ फिल्ममा दर्शकले आफ्नो भर्सटायल एक्टिङ हेर्न पाउने गरिमाले बताइन् । उनले भनिन्, ‘मलाई टाइप अफ कास्ट हुन मन छैन ।’ त्यसैले प्रायः फिल्मा सोभर गर्लको भूमिका निभाउने गरिमाले ‘ठूली’ फिल्ममा बारमा नाच्ने युवतीको भूमिका निभाएकी छिन् ।