वर्ष ०७० को हिट फिल्मको लिस्टमा ‘आधी बाटो’ प्लस हुने छनक देखिएको छ । सुखद सुरुवाती व्यापारसँगै ‘आधी बाटो’ वर्ष ०७० को हिट फिल्मको लिस्टमा आफ्नो नाम दर्ता गर्न अग्रसर छ ।
गीत संगीत तथा निर्माण युनिटको व्यापक मिडिया पब्लिसीटिले ‘आधी बाटो’ हेर्न दर्शक हलसम्म ओइरिए । सार्वजनिक बिदाको दिन शनिबार ‘आधी बाटो’ हेर्न हलमा दर्शकको मेला लाग्यो । मोफसलका ३५ र काठमाडौंका १९ वटा पर्दा शनिबार खचाखच रहे । काठमाण्डौ वितरक गोपाल कायस्थले शुक्रबार भन्दा आईतबार हलमा अकुपेन्सी राम्रो रहेको बताए ।
मोफसलबाट विरतक नरेन्द्र महर्जनले पनि आइतबार ‘आधी बाटो’को अकुपेन्सी पचास प्रतिशत माथि रहेको जानकारी दिए । चैते दशैं र राम नवमीको अवसरमा ‘आधी बाटो’ हेर्न दर्शक ओइरिने वितरकको आशा छ । फिल्मप्रति दर्शकको प्रतिक्रिया राम्रो रहेकाले फिल्म सुपरहिट हुने निर्माता रमेश त्वायना विश्वास व्यक्त गर्छन् । ‘हाँसि देऊ एकफेर’बाट हाँस्न नसकेका निर्माता त्वायनाले भने, ‘दर्शक प्रतिक्रिया राम्रो छ । लगानी उठाउनेमा आशावादी छु ।’
त्वायनाले ‘आधी बाटो’ निर्माणमा झन्डै एक करोड खर्चिएका छन् । यस वर्षको सुपरहिट फिल्म ‘काली’का निर्देशक सविर श्रेष्ठ ‘आधी बाटो’का निर्देशक हुन् । यश कुमार, जेनिशा केसी र सविन श्रेष्ठ फिल्मका मुख्य कलाकार हुन् । सुरेश अधिकारी र यश कुमारको ‘आधी बाटो’मा संगीत छ । ‘होस्टेल’, ‘काली’, ‘छ एकान छ’ र 'झोला' वर्ष ०७० का सुपरहिट फिल्म हुन् । सुपरहिट हुन चैत २८ गते प्रदर्शन हुने ‘नाइ नभन्नु ल २’ अर्को प्रतिक्षित फिल्म हो ।

