अभिनेता सौगात मल्लका लागि वर्ष २०७० साल लाभदायक बनेन । वर्ष ०७० सालमा सौगात अभिनित ‘उमा’, ‘सौर्य’ र ‘फिटकिरी’ फिल्म प्रदर्शनमा आए । उनका तीन वटै फिल्म व्यवसायिक रुपमा असफल भए । अझ भनौं, ०७० सालमा सौगातले फल्प फिल्मतर्फ ह्याट्रिक नै गरे ।
सौगात पुलिस इन्सपेक्टर भएको फिल्म ‘उमा’ले राम्रै व्यापार गर्ने आशा थियो । तर, निर्माण युनिटले मासलाई छोडेर क्लासलाई लक्षित गरी प्रचार प्रसार गर्दा ‘उमा’को व्यापार आशा गरे अनुरुप हुन सकेन । छिरिङ रितार निर्देशित ‘उमा’को शिर्ष भूमिकामा अभिनेत्री ऋचा शर्मा थिइन् ।
‘लुट’ भन्दा अगाडी छायाँकन गरिएको सौगात अभिनित ‘सौर्य’ फिल्मको व्यापारिक हिसाब न्यून रह्यो । सौगातलाई ‘सुपरहिरो’ बनाइएको ‘सौर्य’ एक साता पनि हलमा टिकेन । ‘सौर्य’ सिधै घाटामा गयो । ०७० सालको अन्तिम महिनामा प्रदर्शन भएको सौगातको अर्को फिल्म ‘फिटकिरी’ले पनि अपेक्षा अनुरुपको व्यापार गरेन । अनुप बराल निर्देशित ‘फिटकिरी’बाट सौगात फल्प हिरो बने ।
फिल्म हलमा फल्प भएपनि सौगातलाई फिल्म प्रस्तावको कमी देखिएन भने उनको प्रसंशामा पनि कमी आएन । उनले धेरै फिल्म ‘रिजेक्ट’ गरे । सौगातले यसै वर्ष सुटिङ सकाएको ‘मुखौटा’ फिल्म प्रतिक्षित बनिरहेको छ । सौगात हाल दिपा बस्नेतले निर्देशन गरिरहेको ‘श्री ५ अम्बरे’को सुटिङमा व्यस्त छन् । ०७० सालमा फल्प फिल्मको संख्या बढाएका सौगातको ०७१ साल कस्तो होला ?

