नेपाललाई पुरूष प्रधान देश भनिन्छ । हाम्रो समाजमा अझै पनि महिलालाई दबाएर राख्ने गरेको पाइन्छ । महिला पनि पुरूष सरह हरेक कुरामा सक्षम छन् भन्ने बिषयलाई फिल्मको पर्दामा उतारिंदै छ ।

अष्ट्रेलियामा बस्दै आएका अशोक राईले आफैले लेखेको कथामा 'भाले फाईट' नामक फिल्म निर्देशन गर्दैछन् । बैशाख महिनाको अन्तिम साताबाट सुटिङ शुरू गर्ने तयारी गरिएको यो फिल्मले पुरूष प्रधान समाजमा नारीको भूमिकालाई प्रस्तुत गर्नेछ ।
मुनाल फिल्म्सको व्यानरमा भोज बहादुर गुरूङसहितको टिमले निर्माण गर्न लागेको फिल्म 'भाले फाईट'मा बाबु बोगटी, संदीप क्षत्री र रीमा विश्वकर्माको मुख्य भूमिका रहने भएको छ । काठमाण्डौ वरपर सुटिङ हुने बताईएको यो फिल्ममा निर्देशक राईकै गीत तथा संगीत रहने छ । अन्य कलाकार र प्राबिधिक छनोटको प्रक्रियामा रहेको निर्माता गुरूङले जानकारी गराए ।
भर्खरै मात्र 'हमजायगा' फिल्मको सुटिङ सकाएका निर्माता गुरूङले नाम 'भाले फाईट' भएपनि फिल्मलाई नारी प्रधान बनाईने बताए ।

