डा. कृष्णहरि बरालको शब्द तथा सुरेश गैरेको संगीतमा बालगायक प्रेम परियारले गाएको फिल्म 'नाइ नभन्नु ल २'को 'मर्ने कसैलाई रहर हुँदैन...' बोलको गीत अहिले निकै चर्चामा छ । यहि चर्चित गीतले ६ बर्षे क्यान्सर पीडित बालकको जीवन बचाउन सहयोग पुर्याएको छ ।
ब्लड क्यान्सर पीडित गोरखा बोर्लाङ ४ का ६ वर्षे बालक दिपेश श्रेष्ठको उपचारकालागि आर्थिक सहयोग जुटाउन नेपाल पत्रकार महासंघ जिल्ला शाखा गोरखा, गोरखाको च्वाइस एफएम ९०.४ मेगाहर्ज र गोरखामा क्रियाशिल पत्रकारहरुले 'नाइ नभन्नु ल २'को प्रस्तुत मार्मिक गीत गाउँदै घरदैलो अभियान चलाईरहेका छन् ।
काठमाण्डौंस्थित कान्ति बाल अस्पतालमा उपचारार्थ ब्लड क्यान्सर पीडित श्रेष्ठको परिवारको आर्थिक अवस्था निकै कमजोर रहेका कारण उपचारका लागि ६ लाख रूपैयाँ जुटाउन नसकेपछि सहयोगको अपिल गरिएको हो ।
करिब एक हप्ताअघिदेखि थालिएको उक्त अभियानलाई गोरखा बजारबासी, छेवेटारबासी र गोरखा नै स्थायी घर भई रोजगारीका क्रममा यूकेमा पुगेका युवाहरुले आर्थिक सहयोग गरेको अभियानमा सक्रिय पत्रकारहरूले जानकारी गराएका छन् ।
अहिलेसम्म एक लाख ४७ हजार रूपैयाँ रकम संकलन भएको च्वाईस एफएमका स्टेशन म्यानेजर किरण लोहनीले जानकारी गराए । सहयोग गर्नेहरूको संख्या बढ्दो रहेको लोहनीको भनाई छ । उनका अनुसार जम्मा भएको रकम केहि दिनमा काठमाण्डौ आएर बिरामी बालकको परिवारलाई हस्तान्तरण गरिने छ ।
चैत्र २८ गते रिलिज हुन लागेको फिल्म 'नाइ नभन्नु ल २' निर्माण युनिटले ११ हजार रूपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । यस्तै फिल्म युनिटले देशबिदेशबाट पनि उक्त बालकको जीवन बचाऊका लागि सहयोगको अपिल गर्ने भएको छ । 'हाम्रो एक रूपैयाँले कसैको जीवन बच्छ भने किन सहयोग नगर्ने ?,' निर्देशक विकास आचार्यले भने ।
तस्विर सौजन्य : बिनोद ढकाल/ उज्यालो

