Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कसरी भए विरेन फिल्मको हिरो ?

फिल्मीखबर, काठमाण्डौ, 2014/04/04

‘आमा बुवाको चाहना चार्टर अकाउन्टेन्ट बनाउने । मेरो चाहिं आर्मी बन्ने । चार्टर अकाउन्टेन्ट बन्नेतिर ध्यान गएन । आर्मीमा नामै निस्किएन,’ पुतलीसडकको विजिवि स्टुडियोको एक साँझमा अभिनेता एवम् निर्माता विरेन श्रेष्ठले आफ्ना अपुरा रहरलाई पल्टाए ।

 

उसो भए आर्मीमा फेल भएपछि हिरो बन्नुभयो ? पन्ध्र वर्षअघि ‘नाम के हो’ फिल्म डेब्यू विरेनले भने, ‘त्यो पनि हो । तर, साथी सर्कलको प्रेरणाले गर्दा म फिल्म लाइनमा छिरेको हुँ । लुक्सले पनि साथ दिएकाले हिरो भएँ ।’ तनहुँको चिसापानी गा.वि.स.मा हुने हरेक जसो रमझममा बाल्यकालदेखि नै विरेनको सहभागी अनिवार्य हुन्थ्यो । उनले सम्झिए, ‘नाच्ने गाउने कार्यक्रम भयो भने अघि सरि हाल्थें । नाचेर सबैको तारिफ बटुल्थें ।’

 

विरेनले पहिलो पटक अभिनय गरेको फिल्म ‘नाम के हो’को रिलिज रोकियो तर अभिनय गर्ने काम रोकिएन । विरेनले हालसम्मको फिल्मी करिअरमा जम्माजम्मी १२ वटा फिल्ममा हिरो भएर अभिनय गरेका छन् । आफ्नै लगानी रहेको ‘मिस्टर मंगले’ फिल्मले विरेनलाई दर्शक समक्ष पुग्न मद्धत गर्यो । ‘मिस्टर मंगले’मा ५२ लाख खर्चिएका विरेनले उक्त फिल्मबाट पचास प्रतिशत मात्रै लगानी रिकभर गर्न सके ।

 

मोफसलमा राम्रो व्यापार गरेको ‘मिस्टर मंगले’को काठमाण्डौ प्रदर्शन ३ वर्ष ढिलो हुँदा घाटा हुन गएको विरेन सुनाउँछन् । फिल्म निर्माण चाहिं किन ? भन्ने प्रश्नमा विरेनको उत्तर छ, ‘आफ्नै प्रचार र ब्यानरलाई स्थापित गर्रौ भनेर फिल्ममा हात हालें ।’ उनी फिल्म निर्माणमा सफल हुने आशा व्यक्त गर्छन् । भन्छन्, ‘असफलताले नै सफलता दिन्छ । त्यसैले असफलताबाट आत्तिएको छैन ।’

 

यही चैत्र २८ गते प्रदर्शन हुने फिल्म ‘मनले मनलाई छुन्छ’ बिरेनले निर्माण गरेको दोस्रो फिल्म हो । स्व. शिव रेग्मी यो फिल्मका निर्देशक हुन् । विरेन सम्झन्छन्, ‘सरले भन्ने गर्नुहुन्थ्यो केटो तैंले सफलता देखेको छैनस्, यो फिल्मबाट तैंले सफलता देख्छस् ।’ दुबै किड्नी फेल भएर यसै वर्ष निर्देशक रेग्मीले निधनको बाटो रोजे । विरेन भन्छन्, ‘उहाँ मरेपनि उहाँको सृजना मर्दैन त्यसैले फिल्ममा उहाँलाई स्व.भनेर सम्बोधन गरेका छैनौं ।’

 

विरेनका आफ्नै दाजु बिरामी परेर ‘मनले मनलाई छुन्छ’ फिल्म दुई वर्ष रोकिन पुग्यो । निर्देशक रेग्मी अस्पतालमा थला पर्दा रिलिज मिति एक वर्ष पर सर्न गयो । के छ फिल्ममा ? विरेनले भने, ‘यो विशुद्ध पारिवारिक फिल्म हो । कथावस्तुबाटै शिर्षक जुराइएको हो ।’ फिल्मबारे विरेन थप्छन्, ‘मान्छेले चन्द्रमा छोयो तर मान्छेको मन छुन सकेको छैन भन्ने कथालाई फिल्ममा देखाउन खोजिएको छ ।’ विरेनले भनेजस्तै फिल्मले दर्शकको मनलाई छोला त ?