Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(12 votes, avg 1.08/5.00)
Text size:-
+
-

`म रेखालाई प्रेम गर्छु` : सविन श्रेष्ठ

फिल्मीखबर, काठमाण्डौ, 2014/04/03

रेखा फिल्मस्को ‘अन्दाज’ फिल्मबाट रजतपटमा डेब्यू गरेका अभिनेता सविन श्रेष्ठले अभिनेत्री रेखा थापासँग आफ्नो प्रेम रहेको खुलाएका छन् । फिल्मीखबरसँगको विशेष कुराकानीमा सुगठिलो शरीरका धनी अभिनेता श्रेष्ठले भने, ‘म रेखालाई प्रेम गर्छु ।’


महाराजगन्जस्थित रेड स्टुडियोमा सविनले कुरोको चुरो फुकाए, ‘हो म रेखाजीलाई प्रेम गर्छु । तर, उहाँलाई मेरो सम्मानजनक प्रेम छ ।’ उनी प्रेमको परिभाषा दिन तर्फ लागे, ‘यहाँ प्रेमलाई गलत रुपमा अर्थ्याइन्छ । प्रेम हरेक व्यक्तिसँग हुन सक्छ ।’

 

टेलिफिल्म ‘क्याटमाण्डु’ र 'घरबेटी बा' सहित केही म्युजिक भिडियोमा देखिएका सविनलाई ठुलो पर्दामा प्रवेश गराउन रेखासँगै निर्देशक उज्जवल घिमिरे, निर्माताद्धय छवि ओझा र अशोक शर्माको हात छ । सविन भन्छन्, ‘उज्जवल सरसँग फेसबुकमा फिल्ममा काम गर्ने बारे कुरा भएको थियो । रेखाजीले पनि भिडियो हेरेर मलाई एकदिन हिरो बनाउने सोच बनाउनु भएको रहेछ ।’

 

डेब्यू फिल्म ‘अन्दाज’ सहित रेखासँग सविनले ‘रावण’, ‘हमेशा’, ‘वर्षात’ र ‘दमादार’मा जोडी भएर अभिनय गरेका छन् । ‘अन्दाज’ रिलिजताका सविन र रेखाबिच अफयेर रहेको फिल्मी बजारमा हल्ला थियो । यसबारे सविनको प्रष्ट्याइ छ, ‘रेखाजीको मसँग मात्रै हैन आर्यन, जीवनसँग पनि अफयेरमा हल्ला चल्ने गर्दथ्यो । यी सबै हल्ला मात्रै हुन् ।’


रेखा फिल्म्स् बाहेक सविनका अन्य फिल्मले व्यावसायिक सफलता पाउन सकेनन् । किन होला ? सविनले सोच्दै भने, ‘दर्शकलाई कस्तो खान्की चाहिन्छ भन्ने कुरा रेखा ब्यानरलाई राम्रोसँग थाहा छ ।’ चैत २१ गते प्रदर्शन हुने फिल्म ‘आधी बाटो’बाट भने सविन केही हुने अपेक्षमा छन् । किन ? उनले भने, ‘यो फिल्ममा मैले देखाउने ठाउँ पाएको छु । मलाई निर्देशक सविर श्रेष्ठले दर्शकलाई मन पर्ने भूमिका दिनु भएको छ ।’


रेखासँगको प्रेम र ‘आधी बाटो’ बारे बोल्ने मुडमा रहेका सविनले आफ्नी प्रेमिका नम्रता झाको नाम भने कुराकानी अवधीभर एक पटक पनि निकालेनन् । फेरी टुट्यो प्रेम ? नम्रतासँग भएको उनको प्रेम बारे सोधियो । ‘म त अहिले पूरै आफ्नो कामसँगको प्रेममा परेको छु,’ सविनले दोधारे शैलीको उत्तर दिए, ‘कसैको पनि भविष्य निश्चित छैन । हाम्रो प्रेमलाई पनि भविष्यकै हातमा छोडिदिएका छौं ।’ उनी बढी बोल्न चाहेनन् ।

 

लामै वर्षदेखि प्रेममा परेका भनिएका सविन र नम्रताबिच एक समय व्रेकअप भएको हल्ला समेत बाहिरिएको थियो । तर, मलेसियामा सम्पन्न नेफ्टा अवार्डमा सँगै सहभागी भएसँगै सविन र नम्रताबिचको प्रेम मौलाइरहेको स्पष्ट भएको थियो ।

 

प्रसङ्ग बदलियो । सविनले जिमखाना धाउन थालेको झन्डै दश वर्ष पुगिसक्यो । हरेक बिहानी जिमखाना धाएको असर सविनको पाखुरामा प्रष्टै देखिन्छ । फिल्म नगरीमा यो पाखुराको कमाल कहिलेसम्म ? आफुलाई कलाकार भन्न रुचाउने सविनले भने, ‘म आफ्नो पेशाप्रति मृत्यु नजिकसम्म इमान्दार भएर लाग्नेछु । पाखुरा बलियो हुँदै एउटा फिल्म बनाउने धोको छ ।’

 

सविनले आफ्नै लगानीमा निर्माण हुने फिल्मको ड्राफ्ट तयारी भैरहेको बताए । फिल्ममा निर्देशक सविर श्रेष्ठ र सम्मानित प्रेमिका रेखा थापा नछुट्ने उनले सुनाए । कस्तो फिल्म बनाउने ? 'अहिले कथा चाहिं नखोलौं होला,' मुस्काउँदै भने ।