यहि चैत्र २८ गते रिलिज हुन लागेको फिल्म 'नाइ नभन्नु ल २'ले बालप्रेमको कथा पस्कने छ । बिशेषगरी ६ बर्षका बालकलाकार अनुभव रेग्मी, ७ बर्षे अर्की बालकलाकार सुज्ञानी भट्टराई र १२ बर्षे बालगायक प्रेम परियार यो फिल्म चल्ने मुख्य हतियार हुन् ।
बिहिबार राजधानीमा आयोजना गरिएको प्रेसमिट कार्यक्रममा पनि मुख्य आकर्षण यिनै तीन कलाकार भए । अनुभवले फिल्मको डाईलग र गीत सुनाउँदा उपस्थित पत्रकारबाट नै तालीको गडगडाहट सुनियो । जब प्रेमले फिल्मको एउटा रोमान्टिक गीत गाए तब हल तालीले गुञ्जायमान भयो । फिल्मकी मुख्य पात्र मध्येकी एक सुज्ञानीले बाल स्वरमा आफू फिल्मकी हिरोइन भन्दा उपस्थित सबैको मुहारमा हाँसो देखियो ।
निर्देशक विकास आचार्यले गीत देखाईए अनुसार बालबालिकालाई प्रेम गर्न नसिकाएको भन्दै फिल्म रिलिज भएपछि अनुभव र सुज्ञानीको अभिनयको चमत्कार हेर्न सकिने बताए । उनले भने, 'फिल्मले भन्ने कथा फरक छ जुन दर्शकलाई मन पर्नेछ ।'


अभिनेत्री प्रियंका कार्कीले फिल्ममा निकै च्यालेञ्जिङ भूमिका निर्वाह गरेको बताईन् । उनले भनिन्, 'मलाई आमा बनेर छोराछोरी प्रतिको जिम्वेवारी वहन गर्ने मौका मिलेको छैन । यहि भूमिका मलाई निकै च्यालेञ्जिङ भयो । तर मैले मनदेखि नै राम्रो काम गर्ने कोसिस गरेकी छु ।' फिल्ममा पहिलो पटक अभिनय गरेकी बर्षा सिवाकोटीले युनिटसँग काम गर्दा धेरै सिक्ने मौका पाएको भन्दै पहिलो फिल्मबाट नै सबैको माया र हौसला पाउँदा खुसी लागेको धारणा राखिन् ।


'नाइ नभन्नु ल' फिल्मका मुख्य अभिनेता जीवन लुईटेलले सिक्वेल फिल्ममा आफ्नो उपस्थिती महत्वपूर्ण रहेको भन्दै छोटो भूमिकामा देखिनुको कारण खोल्दै भने, 'फिल्मको कथाले मलाई माग्यो अनि म देखिएँ । मेरो उपस्थितीले फिल्ममा नयाँ ट्विस्ट ल्याउने छ ।' यस्तै उनले बालबलाकारले पाएको चर्चाले आफू खुसी रहेको भनाई राखे ।
संगीतकार बसन्त सापकोटाले गीतलाई रूचाईदिएको खुसी लागेको बताए भने फिल्ममा पहिलो पटक संगीत दिएका सुरेश गैरेले पहिलो फिल्मको गीत नै हिट हुँदा नसोचेको सफलता पाएको भन्दै खुसी साटे ।


गायक राजेश पायल राईले पनि आफ्ना ५ हजार भन्दा बढि गीतको लिस्टमा यो फिल्मको गीत अग्रपंक्तीमा पर्ने बताए भने बालगायक प्रेम परियारले निर्देशक आचार्यलाई गाउने मौका दिएकोमा धन्यवाद व्यक्त गर्दै गीत मनपराईदिएकोमा दर्शकस्रोतालाई धन्यवाद दिए । कार्यक्रममा राजेश र प्रेमले फिल्मका एक-एक वटा गीत गाएर सुनाएका थिए ।

फिल्ममा सुरज सिंह ठकुरी, सरोज खनाल, सिताराम कट्टेल, निर्दोष केसी लगायतको पनि अभिनय छ । वसन्त सापकोटा र सुरेश गैरेको संगीत, कविराज गहतराजको नृत्य, पुरुषोत्तम प्रधानको छायांकन, दिर्घ खड्काको सम्पादन, कृष्णहरी बराल गीत रहेको यो फिल्मलाई वान टाईम सिनेमा र एञ्जल मुभिजले निर्माण गरेको हो । फिल्मका निर्माता दिनेश कुमार पोखरेल हुन् ।

