पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले फिल्मकर्मीले तयार पारेर सञ्चारमन्त्रालयमा बुझाएको राष्ट्रिय फिल्म नीतिलाई आफ्नो पार्टीको तर्फबाट छलफल गरेर संबिधानसभाबाट पारित गराएर छाड्ने प्रतिबद्धता जनाएका छन् ।
जनपक्षीय चलचित्रकर्मी संघको ८ औं बार्षिकोत्सव कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गरेका खनालले देशलाई चिनाउने फिल्म क्षेत्र एक महत्वपूर्ण माध्यम भएकाले संबिधानमा फिल्म नीति आवश्यक रहेको धारणा राखे । खनालले अझैपनि नेपाली माटो चिनाउने फिल्म निर्माणको खाँचो रहेको औल्याउँदै सरकारको ढुकुटी बढाउने साँस्कृतिक क्षेत्रलाई सरकारले ध्यान दिनुपर्ने बताए ।
फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै संबिधानसभामा सभासदको रूपमा निर्वाचित भएका सभासद रामविर मानन्धर र मधु गुरूङ तथा चलचित्र पत्रकार संघको नयाँ कार्यसमितीलाई सम्मान तथा बधाई दिंदै खनालले फिल्म क्षेत्रको विकासमा लाग्ने सबैको मिसन सफल होस् भन्दै शुभकामना दिए ।
यता हल सञ्चालक समेत रहेका सभासद रामविर मानन्धरले फिल्मसँग सम्बन्धित सबै संघसंस्था एकजुट भएर लागे आगामी संबिधानसभामा फिल्म नीति पुग्ने बताए । उनले भने, 'तपाईं फिल्मकर्मीहरू एकजुट भएर लाग्नुस् हामी नीति पारित गरेरै छाड्छौं ।' संबिधानसभामा 'चलचित्र' शब्द अटाउन सके सम्पूर्ण फिल्मकर्मीले गौरव गर्न मिल्ने उनको भनाई थियो ।
यता केहि फिल्ममा गीत गाएकी सभासद मधु गुरूङले आफूले फिल्म क्षेत्रको विकासका लागि दायित्व बोध गरेको बताउँदै फिल्म क्षेत्रको समस्यालाई संबिधानसभामा उठाउने प्रतिबद्धता व्यक्त गरिन् । जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष केशब भट्टराईले राष्ट्रिय फिल्म नीतिले फिल्म क्षेत्रकोसबै समस्याको गाँठो फुकाउने भएकाले उक्त नीतिलाई जुनसुकै हालतमा संबिधानमा पुर्याइदिन नेताहरूलाई खबरदारी गरे ।





