नेपाली फिल्म 'राहदानी'लाई नेपालका २५ स्थान र विभिन्न १५ ओटा बाह्य मुलुकमा ‘मातृभूमिकालागि युवा अभियान नेपाल’ले बिशेष प्रदर्शन (च्यारिटी शो) गर्ने भएको छ ।

'राहदानी'को निर्माण कम्पनी सिनेमनवल इन्टरप्राईजेज प्रालिका अध्यक्ष लक्ष्मीप्रसाद ढकाल र मातृभूमिकालागि युवा अभियान नेपालका अध्यक्ष सुनिल खड्का बीच प्रथम चरणको च्यारिटी शोको लागि सम्झौता भएको हो । सो सम्झौता अनुसार बैशाखबाट असार मसान्तसम्म विभिन्न १५ देशमा 'राहदानी'को च्यारिटी गरिने छ ।
‘मातृभूमिकालागि युवा अभियान नेपाल’ले थाईल्याण्ड, मलेशिया, जापान, इजरायल, कतार, हङकङ, सिँगापुर, मकाउ, दक्षिण कोरिया, डेनमार्क, स्पेन, इटाली, अष्ट्रेलिया, बेलायत र अमेरिकामा प्रतिदेश एक शोका दरले बिशेष प्रदर्शनी गर्ने भएको छ । यस्तै नेपालको काठमाडौं उपत्यकासहित २५ स्थानमा पनि सोही समयमा प्रति स्थान एक शोका दरले सो संस्थाले च्यारिटी गर्ने सम्झौता भएको छ ।
सञ्चारकर्मी डब्बु क्षत्रीको लेखन/निर्देशन रहेको यो फिल्ममा बैदेशिक रोजगारीका क्रममा नेपालीले भोग्नु परेको विभिन्न समस्या समेटिएको छ । जसमा दयाहाङ राई, अशोक रिजाल, रुपा खनाल, सृजना सुब्बा, बिनिता घिमिरे, नविन लम्साल, दिनेश दुलाल, मोनिका दाहाल, फुपु तेन्जिङ शेर्पा, बिकाश जोसी, विधा कार्की, आस्मिता बस्नेत, लक्ष्मण बिक्रम बस्नेत लगायतको अभिनय छ ।

