प्रारम्भिक चरणका अधिकांश फिल्ममा अभिनेत्री रेखा थापा चुलबुले र आधुनिक युवतीको प्रतिनित्व गर्ने गर्ने भूमिकामा देखिइन् । ‘दुर्गा’ फिल्मपछि भने रेखा प्रायः एक्सन फिल्ममा केन्द्रित भएको देखिन्छ ।
व्यवसायिक सफल फिल्म ‘कर्णविर’, ‘गंगाजल’, ‘हिम्मत’, ‘हिफाजत’, ‘लंका’, ‘काली’ जस्ता फिल्ममा रेखाले एक्सन लेडीको भूमिका निभाइन् । होम प्रोडक्सनको पछिल्लो फिल्म ‘हिम्मतवाली’मा पनि रेखा एक्सन लेडीको रुपमा प्रस्तुत भएकी छिन् । लगातार पर्दामा एक्सन लेडीको रुपमा प्रस्तुत हुँदै आएकी रेखालाई एक जमातले भन्ने थालेका छन्, 'रेखाले त छोटा लुगा छोडेर गुण्डा कुट्न पो थालिन् त !'
वैशाख अन्तिम साताबाट प्रदर्शनमा आउने फिल्म ‘दमदार’मा पनि रेखाले भरपुर एक्सनका दृश्य दिएकी छिन् । निर्देशक कमलकृष्णले केही दिन अगाडी प्रेसमिटमा भने जस्तै ‘दमदार’मा रेखाले एक्सनको अस्त्र मज्जैले प्रहार गरेकी छिन् । रेखाको एक्सनले सिङ्गल थिएटरमा दर्शकको ओइरो लाग्ने अड्कल समेत काटिएको छ ।
सुमन विष्टको लगानी रहेको फिल्ममा रेखासँगै सविन श्रेष्ठ, बासु पुँडासैनी, कमलकृष्णको मुख्य भूमिका रहेको छ । अर्चना देलालले आइटम नृत्य पस्केकी छिन् । संगीत निर्देशकले नै दिएका छन् । फिल्मको फाईट निर्देशक चन्द्र पन्त हुन् । सौरभ लामाले ‘दमदार’ लाई खिचेका छन् ।

