पछिल्लो समय प्रदर्शनमा आएका मध्ये ‘झोला’ फिल्मले अनपेक्षित सफल व्यापार गर्न सक्यो । अपेक्षा गरिएका ‘मोक्ष’, ‘ऋतु’ र ‘फिटकिरी’ को व्यापार सोचे अनुरुप हुन सकेन । डार्क कमेडी फिल्म ‘झोले’ को व्यापार मध्यम रह्यो । हलमा फिल्म अपेक्षनुरुप नचलेर के भो त ? फ्लोरमा फिल्म बग्रेल्ती चलिरहेका छन् ।
नेपाल चलचित्र प्राविधि संघको दर्तालाई आधार मान्ने हो भने हाल फ्लोरमा झन्डै दुई दर्जन फिल्म छन् । फ्लोरमा रहेको यो फिल्मको संख्या प्रदर्शनका लागि घातक मानिएपनि प्राविधिक तथा कलाकारको लागि भने फाईदाजनक मानिएको छ । फिल्म क्षेत्रका अधिकांश प्राविधिक र धेरै जसो कलाकारलाई सुटिङको व्यस्तताले पछ्याइरहेको छ ।
हाल फ्लोरमा ‘श्री ५ अम्बरे’, 'अधकट्टी', 'ठूली', 'प्रवास', ‘ताण्डव’, ‘रेशम फिलिली’, ‘कैफियत’, ‘तान्द्रो’, ‘सेतो बाघ’, 'जन्मभूमी' र स्थानीय भाषाका फिल्मको सुटिङ भैरहेको छ । आधा दर्जन भन्दा बढि फिल्म निर्माणको घोषणा गरेर फ्लोर पस्ने तयारीमा छन् ।
फिल्म वितरक कम्पनी एफडीका अनुसार ०७१ सालका अधिकांश रिलिज डेट तय भईसकेका छन् । यसरी हेर्दा वर्ष २०७० मा केही व्यवस्थित देखिएको फिल्म प्रदर्शन प्रणाली आउँदो २०७१ सालमा भने भद्रगोल हुने संकेत छ । आखिर पोष्ट र सुटिङमा रहेका फिल्मको प्रदर्शन गर्नु नै छ ।

