कुनै पनि संवाद तथा दृश्यमा कैंची नचलाई नेपाल चलचित्र जाँचपास समितीले फिल्म 'आधी बाटो'लाई सबैले वर्गका दर्शकले हेर्न पाउने गरि युनिभर्सल (यू) सर्टिफिकेट दिएको छ । सोमबार फिल्म हेरेपश्चात सेन्सर बोर्डका सदस्यले फिल्म राम्रो बनेको भन्दै 'यू' सर्टिफिकेट दिएको निर्देशक सबिर श्रेष्ठले जानकारी गराए ।
नेदरल्याण्डमा सम्पन्न दोस्रो इनास अवार्डमा 'काली' फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड पाएका निर्देशक श्रेष्ठले 'आधी बाटो'ले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । उनले भने, 'राम्रो फिल्म दर्शकमाझ ल्याएका छौं । सबैले मन पराउनु हुनेछ भन्ने विश्वास छ ।'
आउँदो शुक्रबार अर्थात चैत्र २१ गतेबाट प्रदर्शनमा आउन लागेको 'आधी बाटो'लाई रमेश त्वायनाले निर्माण गरेका हुन् । फिल्ममा यश कुमार जेनिशा केसी, सबिन श्रेष्ठ, अनु शाह, रूवी राणा लगायतले अभिनय गरेका छन् । साँगीतिक प्रेमकथामा बनेको यो फिल्ममा यश कुमार र सुरेश अधिकारीको संगीत छ । फिल्मको संगीतले अहिले राम्रो स्थान पनि पाएको छ ।

