बक्स अफिस फिल्म अवार्ड २०७० का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएका छन् । यस वर्षको व्यवसायिक सफल फिल्म ‘काली’ सर्वाधिक विधामा मनोनयनमा परेको छ । निर्माता, फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री सहित अन्य १९ विधाको मनोनयनमा ‘काली’ परेको छ ।
‘काली’ पछि यो वर्षको अर्को व्यवसायिक सफल फिल्म ‘छ एकान छ’ सर्वाधिक विधाको मनोनयनमा छ । फिल्म, निर्देशक, अभिनेत्री, हाँस्य कलाकार तथा खलपात्र सहित कमेडी फिल्म १७ विधाको मनोनयनमा परेको छ । उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, गीतकार, गायक तथा गायिका गरी ‘रिदम’ १६ विधाको मनोनयनमा छ भने ‘होस्टेल’ फिल्म १२ विधाको मनोनयनमा छ ।


उत्कृष्ट फिल्ममा ‘होस्टेल’, ‘काली’, ‘रिदम’, ‘छ एकान छ’ र ‘मायाज बार’ बिच प्रतिस्पर्धा हुनेछ भने उत्कृष्ट पाँच निर्देशकमा विकास आचार्य (रिदम), दिनेश डिसी (छ एकान छ), सविर श्रेष्ठ (काली), श्याम भट्टराई (लंका) र दिपेन्द्र के.खनाल (झोले) छन् । उत्कृष्ट अभिनेतातर्फ आर्यन सिग्देल (महसुश), सुमन सिंह (प्रेमिका), किशोर खतिवडा (काली), अर्पण थापा (धन्दा) र जीवन लुइँटेल (रिदम) छन् । उत्कृष्ट अभिनेत्रीको प्रतिस्पर्धामा ‘काली’बाट रेखा थापा, केकी अधिकारी (महसुश), नीता ढुङ्गाना (छ एकान छ), झरना थापा (प्रेमिका) र प्रियंका कार्की ‘झोले’ बाट मनोनयनमा छन् ।


उत्कृष्ट नव निर्देशकको मनोनयनमा दिनेश राउत (आई एम सरी), हेमराज बिसी (होस्टेल), जोएस पाण्डे (साँघुरो), कमल दाहाल (झेली) र प्रविण श्रेष्ठ (मोक्ष) छन् । त्यस्तै अनमोल केसी (होस्टेल), कोशिस क्षेत्री (मोक्ष), सुरज चिलवाल (ब्लयाक नाइट), सेन सापकोटा (नोटबुक) र सोहित मानन्धर (रीदम) बिच नव नायकतर्फ प्रतिस्पर्धा हुनेछ । नव नायिकातर्फ भने प्रकृती श्रेष्ठ (होस्टेल), सिमा केसी (युज), सुरविना कार्की (झेली), निश्मा घिमिरे (रिदम) र जस्मीन श्रेष्ठ ‘मेरो मनको साथी’ बाट उत्कृष्ट पाँचमा छन् ।

कुल चालिस बिधामा अवार्ड वितरण गर्न लागेको बक्स अफिसले निर्माता, पोष्टर डिजाइनर, निर्माण नियन्त्रक, वितरक, भिसिडि उत्पादन कम्पनी, झुर फिल्म अवार्ड जस्ता बिधामा पनि अवार्ड वितरण गर्दैछ । ०६८ सालदेखि ०७० सालको चैत्र महिनाको १५ गतेसम्ममा प्रदर्शनमा आएका फिल्म अवार्डको नोमिनेशनमा छन् ।
यही आउँदो चैत २९ गते साँझ बौद्धस्थित ह्यात होटलमा 'बक्स अफिस फिल्म अवार्ड २०७०’ आयोजना हुँदैछ । चैत १७ गते साँझ औपचारिक कार्यक्रम गरी उत्कृष्ट पाँचको मनोनयनमा पर्नेलाई प्रमाण पत्र वितरण गरिएको थियो । यस्तै अवार्ड आयोजकले चलचित्र पत्रकार संघको नयाँ कार्यसमितीलाई सम्मान समेत गरेको थियो ।

