नेपाली नयाँ वर्ष २०७१ सालको आगमनलाई लक्षित गर्दै चैत २८ गते दुई नेपाली फिल्म एकसाथ प्रदर्शनमा आउँदैछन् । मानविय संवेदनालाई छुने विकास आचार्य निर्देशित ‘नाइ नभन्नु ल’ २ र स्व.शिव रेग्मी निर्देशित ‘मनले मनलाई छुन्छ’ दर्शकको मन छुन तयार छन् ।

प्रोमोमा देखाइएको बाल प्रेम र गीत संगीतले व्यवसायिक हिट फिल्म ‘नाइ नभन्नु ल’को सिक्वेल ‘नाइ नभन्नु ल २’ यतिबेला रजतपटमा प्रतिक्षित फिल्म बनिरहेको छ । प्रेम परियाले स्वर दिएको ‘यी आँखामा तिमी छौं’, ‘मर्ने कसैलाई रहर हुँदैन’ र फिल्मको शिर्ष गीत दर्शक तथा श्रोताका मुखमा झुन्डिएका छन् ।
अनुभव रेग्मी र सुज्ञानी भट्टराई फिल्मका मुख्य कलाकार हुन् । साथमा जीवन लुईटेल, सुरज सिंह ठकुरी, प्रियंका कार्की, सरोज खनाल, सिताराम कट्टेल ‘धुर्मुस’ र वर्षा सिवाकोटीको पनि फिल्ममा अभिनय छ । यो वर्ष ‘गाला रातै’ र ‘बट् स्लोली स्लोली’ जस्ता सार्वधिक सुपरहिट गीतमा संगीत दिएका बसन्त सापकोटा फिल्मका संगीतकार हुन् ।
एक समय व्यावसायिक सुपरहिट फिल्म दिएका स्व.निर्देशक शिव रेग्मी निर्देशित ‘मनले मनलाई छुन्छ’ प्रदर्शनका हिसाबले अन्तिम फिल्म हो । स्व.निर्देशक रेग्मीप्रतिको समवेदना र निर्माण युनिटले प्रचार प्रसारमा देखाएको तत्परताले ‘मनले मनलाई छुन्छ’ फिल्म हेर्न हलमा दर्शकको लाम लाग्ने अपेक्षा छ । फिल्ममा समावेश बसन्त सापकोटाको संगीतले बजारमा मध्यम स्थान पाइरहेको छ । फिल्ममा अभिनेता बिरेन श्रेष्ठ र अभिनेत्री गरिमा पन्तको मुख्य भूमिका छ ।
नयाँ वर्ष, पर्व तथा सार्वजनिक बिदाको दिन हलमा दर्शकको भिड बाक्लै देखिन्छ । नयाँ वर्षमा दुई वटा फिल्म रिलिज हुनुलाई त्यती ठूलो लडाइँको रुपमा नलिएपनि मैदानी प्रतिस्पर्धामा को अघि र को पछि ? भन्ने लेखाजोखा पक्कै हुनेछ । दर्शकलाई 'च्वाईस', आँखामा बस्ने कि मनमा ?

