चैत १६ गते साँझ नेदरल्यान्डमा सम्पन्न दोस्रो इनास अवार्ड २०१४ मा फिल्म ‘होस्टेल’ ले उत्कृष्ट अवार्ड पाएको छ । फिल्म ‘काली’बाट निर्देशक सविर श्रेष्ठ र अभिनेत्री रेखा थापा उत्कृष्ट भएका छन् ।
अभिनेतातर्फ अर्पण थापा फिल्म ‘धन्दा’बाट उत्कृष्ट भए । सुरज भूषाल निर्देशित ‘मौन’ फिल्मलाई वेष्ट जुरी अवार्ड दिइएको छ । नेपाल चलचित्र प्राविधिक संघले ‘धन्दा’, ‘होस्टेल’, ‘काली’, 'साँघुरो' र ‘मौन’लाई दोस्रो इनास अवार्डको लागि प्रतिस्पर्धामा पठाएको थियो । जसमा 'साँघुरो' बाहेक सबै फिल्मले अवार्ड पाए ।
इनास अवार्डका लागि गत साता फिल्मकर्मी निर शाह, उद्धव पौड्याल, चलचित्र विकास बोर्डका प्रवक्ता अनुपम निरौला, निर्माता सुनिल रावल, राजेश घतानी र अभिनेत्री निशा अधिकारीको टोली त्यसतर्फ गएको थियो । निर्देशक सविर श्रेष्ठ, अभिनेता अर्पण थापा, निर्मात्री दुर्गिश थापालाई भने नेदरल्यान्ड दुतावासले भिसा दिन अस्विकार गरेको थियो ।

