निर्देशक कमलकृष्णले आफ्नो पछिल्लो फिल्म 'दमदार'को व्यापार अभिनेत्री रेखा थापाकै कारणले राम्रो हुने बताएका छन् । आइतवार राजधानीमा फिल्मको अडियो गीत तथा प्रोमो सार्वजनिक कार्यक्रममा फिल्मीखबरसँगको बिशेष कुराकानीमा कमलकृष्णले रेखाले गर्दा नै फिल्म हिट हुने दाबी गरे ।
'दमदार'को मुख्य अस्त्र रेखा भने उक्त समारोहमा उपस्थित देखिईनन् । रेखा नआएपनि कमलकृष्णले रेखाको बखान गर्दै उनको स्टारडमले नै फिल्म चल्ने कुरा बारम्बार दोहोर्याए । यता समारोहमा उपस्थित भएका फिल्मका अभिनेता सबिन श्रेष्ठको भने खासै चर्चा देखिएन । यद्धपी कमलकृष्णले फिल्ममा सबिनको भूमिका दमदार रहेको बताउँदै उनको कामको प्रशंशा भने गरे ।



कार्यक्रममा फिल्मसँग सम्बन्धित बिभिन्न संघसंस्थाका प्रतिनिधीले 'दमदार'को सफलताको काम गरे । फिल्मका निर्माता सुमन बिष्टले दिल खोलेर लगानी गरेको भन्दै फिल्म पनि राम्रो बनेको बताए । रेखा र सबिनको साथमा कमलकृष्ण, बासु पुडासैनी लगायतको अभिनय रहेको यो फिल्ममा चन्द्र प्रसाद गौतमले पनि लगानी गरेका छन् ।
काठमाण्डौ सहित झापा र सिलुगुडीमा छायाँकन भएको यो फिल्ममा चन्द्र पन्तको द्धन्दनिर्देशन,नवराज शर्माको लेखन, सौरभ लामाको छायाँकन, कमलकृष्णको संगीत तथा श्रीराम महतको सम्पादन रहेको छ । फिल्ममा अर्चना देलालको आइटम डान्स रहेको छ । फिल्मलाई बैशाख २६ गते रिलिज गरिंदै छ ।
`जोडदार` निर्देशन गर्दै कमलकृष्ण


'दमदार' फिल्मको कार्यक्रममा निर्देशक कमलकृष्णले 'जोडदार' फिल्म निर्देशन गर्न लागेको घोषणा गरे । सुमन बिष्ट र उमेश उप्रेतीले निर्माण गर्ने फिल्ममा अमित श्रेष्ठ, अभय चन्द, प्रज्वल गिरी, जयना कुवँर लगायतको अभिनय रहने यो फिल्मको सुटिङ जेठ महिनाको पहिलो सातातिर गर्ने लक्ष्य राखिएको निर्देशकले बताए ।
नवराज शर्माले लेखेको एक्सन रोमान्स फिल्म 'जोडदार'मा चन्द्र पन्तले द्धन्दनिर्देशन गर्दैछन् । फिल्मका दुई हिरोइन र अन्य प्राबिधिक भने केहि समयपछि सार्वजनिक गर्ने निर्देशकले जानकारी गराए ।

