ग्याङस्टारहरुको कथा बोकेको नेपाली फिल्म ‘नाईके’को छायाँकन सकिएको छ । तीस दिनमा फिल्मको छायाँकन सकिएको हो । फिल्मको सम्पुर्ण छायाँकन पोखरा र आसपासमा भएको निर्माणपक्षले जानकारी दिएको छ । फिल्म ब्ल्याक स्याडो प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो ।
फिल्ममा लभरब्वाई आर्यन सिग्देल ग्याङस्टार ‘नाईके’को रुपमा देखिएका छन् । त्यस्तै रेम बिक, बोधराज रेग्मी र विजयराज सेन्चुरी पनि फिल्ममा ग्याङस्टार बनेका छन् । फिल्ममा सुरविना कार्की र सारिका केसीले पनि मुख्य भूमिका निभएका छन् । फिल्मलाई नेत्र गुरुङले निर्देशन गरेका हुन् ।
‘टार्गेट अनुसार नै हामीले फिल्मको सुटिङ सकायौँ,’ निर्देशक गुरुङले भने–‘गीत, फाईट र सिनहरु सकिएका छन्, तर अझै हामीले टाईटल गीतलाई छायाँकन गर्नेछौँ ।’ टाईटल गीतलाई उत्कृष्ट बनाउन केहि तयारी आवश्यक भएकोले त्यसको लागि समय लाग्ने उनले बताए ।
रोहन नेपाली कोरियोग्राफर रहेको फिल्ममा चारवटा गीत समावेश छन् । ताराप्रकाश लिम्बु, योगेश काजी र रमण गायक फिल्मका संगीतकारहरु हुन् । राजीव श्रेष्ठको प्रोडक्शन डिजाईन रहेको फिल्मलाई विष्णु हमाल, जगदिश खनाल, आनन्द क्षेत्री, नारायण खनाल र संगीता पराजुलीले मिलेर बनाएका हुन् ।
अर्जुन तिवारीले खिचेको फिल्ममा सानुकुमार महर्जनले द्वन्द निर्देशन गरेका छन् । फिल्मको निर्माण लागत ४० लाख रुपैँया रहेको निर्माणपक्षले जनाएको छ ।




