फिल्म ‘बाटो मूनिको फूल’बाट नायक बनेका गायक यश कुमार अभिनित तेस्रो फिल्म ‘आधी बाटो’ आउँदो शुक्रबार चैत २१ गतेदेखि अल नेपाल प्रदर्शन हुँदैछ । यही वर्ष प्रदर्शनमा आएको फिल्म ‘वीर’ सहित तीन फिल्ममा नायक भएर अभिनय गरेका यशसँग ‘आधी बाटो’ रिलिजको छेको पारेर गरेको कुराकानीलाई फिल्मीखबरले प्रस्तुत गरेको छ ।
गाउने मान्छे कसरी नायक बन्नु भयो ? भन्ने जिज्ञासामा यशले भने, ‘मेरो सोच अरुको भाग्य चम्काउने थियो । पछि गएर आफ्नै चम्कियो ।’ कसरी ? फिल्म ‘बाटो मूनिको फूल’ मा नायक बन्दाको प्रक्रिया बारे यशले सुनाए, ‘खासमा त्यो फिल्मको कथा मैंले आफ्नो लागि लेखेको थिइन । निर्देशक सुरज सुब्बा नाल्बोले उक्त क्यारेक्टर मलाई सुहाउँछ भनेपछि फिल्म खेल्न राजी भएको हुँ ।’
सुरुमा यश नाटकका कलाकार थिए । उनले ‘गजव छ बा’, ‘नारी अवला होइन’ र ‘बाँच्न देऊ’ जस्ता नाटकमा कलाकार भएर अभिाय गरेका छन् । नाटकको कलाकार कसरी गायक हुनुभयो ? दुई सय बढी आधुनिक गीतमा स्वर दिएका यशले सुनाए, 'रगतमै मेरो गायकी जोडिएको छ । किनकी मेरो बुवा र आमा स्थानिय स्तरका राम्रा गीत गाउने कलाकार हुन् ।’
‘मैले छाएको पानी चल्दैन’ आधुनिक गीतबाट यश दर्शक तथा श्रोतामाझ लोकप्रिय भएका थिए । यश आफैंले कथा लेखेको फिल्म ‘बाटो मूनिको फूल’ र फिल्ममा गरेको उनको अभिनयलाई दर्शक तथा समिक्षकले औधी रुचाए । पहिलो फिल्ममै रुचाइएका यशले त्यसपछि भने फिल्म नै खेलेनन् । किन त ? उनले कारण खुलाए, ‘संख्यामा भन्दा पनि गुणस्तरमा ध्यान दिउँ भनेर प्रस्ताव आएजति फिल्म खेलिन ।’ उनले थपे, ‘म सृजनाको लागि काम गर्ने व्यक्ति हुँ ।’
‘आधी बाटो’ फिल्म चाहिं किन गर्नुभयो ? यशले भने, ‘फिल्मको विषयवस्तु र व्यानर हेरेर काम गरेको हुँ । फिल्मको निर्देशन पक्ष पनि उत्कृष्ट छ ।’ रमेश त्यावना निर्मित र सविर श्रेष्ठ निर्देशित फिल्ममा रहेको आफ्नो भूमिका बारे उनी सुनाउँछन्, ‘मैंले फिल्ममा संगीतकारको भूमिका निभाएको छु । फिल्म सत्यको नजिक पुग्न खोजेको छ । गोपाल योञ्जन र नारायण गोपालको साँगीतिक जीवनसँग फिल्म नजिक छ ।’

