निर्देशक गोविन्द राईले आफ्नो पहिलो निर्देशकिय फिल्म ‘नागबेली’लाई देशप्रति समर्पित गरेका छन् । निर्देशक राईले भने, ‘राज्य सञ्चालन गर्नेलाई यो फिल्मले गतिलो सन्देश दिनेछ । यो मेरो फिल्म देशको लागि हो ।’
निर्देशक राईले देशका लागि भनेपनि लेखक दिपेन्द्र लामाले भने ‘नागबेली’ फिल्म पेटका लागि भएको भनी ठट्यौली गरे । असार २७ गते रिलिज मिति तय गरिएको ‘नागबेली’ को प्रेसमिटमा समिक्षक लामाले भने, ‘काठमाण्डौका संघर्षरत चार युवाको कथालाई फिल्मममा मुख्य विषय बनाइएको छ ।’
‘नागबेली’का चार युवामध्ये यशराज गराच, विक्की मल्ल र नव कलाकार सम्भव श्रेष्ठले फिल्म राम्रो बनेको र सबै दर्शकलाई हलसम्म गएर हेरिदिन आग्रह गरे । फिल्मका अर्का कलाकार दयाहाङ राई भने ‘तान्द्रो’ फिल्मको सुटिङका कारण प्रेसमिटमा सहभागी भएनन् । विक्की मल्लसँगै कार्यक्रममा अन्त्यतिर आएकी हर्षिका श्रेष्ठले फिल्म राम्रो बनेको बताइन् ।
रामशरण उप्रेतीको छायाँकन रहेको फिल्ममा दयाहाङ, यशराज, हर्षिका, विक्की, सम्भव, अशोक फुँयाल र सुरभी जैनको मुख्य भूमिका रहेको छ । निर्देशक राईसँगै कमल राईले फिल्ममा नृत्य निर्देशन गरेका छन् । ‘नागबेली’ देशको लागि भनेका निर्देशक गोविन्द राईले दर्शकको लागि चाँडै नै मनोरञ्जनात्मक फिल्म लिएर आउने समेत घोषणा गरे । फिल्मकी निर्माता रोमियन लिम्बु हुन् ।





