निर्देशक शोभित बस्नेतलाई लिएर हिन्दी फिल्म निर्माण गर्ने भनी घोषणा गरेका निर्माता लियाकथ अली कालीमाटी प्रहरी प्रशासनको पक्राउमा परेका छन् । चेक बाउन्सको ‘केस’मा उनलाई प्रहरीले यसै साता पक्राउ गरेको हो ।
चेक बाउन्सको केसमा २५ दिनसम्म प्रहरी हिरासत र त्यसपछि अदालत गर्ने फैसलाका आधारमा कानुनी कारबाही हुने व्यवस्था छ । बाउन्स भएका चेकको रकम दिने सहमती भएमा उनी प्रहरीबाट छुट्न सक्ने कालीमाटीको प्रहरी प्रशासनले जनाएको छ ।
नेपाली कलाकार तथा प्राविधि राखेर ‘मेँ वो नही’ नाम दिई हिन्दी फिल्म निर्माण गर्ने घोषणा गरेका अलीले द्धन्द्ध निर्देशक राजेन्द्र खड्गी सहित अन्य २५ जना व्यक्तिलाई बाउन्स चेक दिएको र आर्थिक रकम असुलेको बताइन्छ । अलीबाट एक लाख २५ हजारको बाउन्स चेक बोकेर हिंडेका द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीले केही दिनमै सबै कुरा बाहिर आउने बताए ।
निर्माता प्रहरी पक्राउ परेपछि निर्देशक शोभित बस्नेत भने सम्पर्क विहिन छन् । लियाकथ अलीबाट निर्देशक बस्नेतले पनि केही रकम लिएकाले शोभित पनि फस्ने सम्भावना रहेको बताइन्छ । निर्माता नै प्रहरी खोरमा परेपछि निर्देशक शोभित बस्नेतले निर्देशन गर्ने भनी घोषणा गरेको हिन्दी फिल्म निर्माण नहुने पक्का भएको छ । आफ्नै सलोन फिल्मस्बाट निर्माण हुने ‘एउटा साथी’बाट पनि निर्देशक बस्नेत आउट भईसकेका छन् ।

