नक्कली कलाकार बनाएर बेल्जियम लैजाने आश्वासन देखाएर अभिनेता दिनेश शर्मासहित ३ जनाले ४० जनाभन्दा बढीलाई ठगी गरेको आरोप लागेको छ । पीडित जेएन घिमिरे, कृष्णकुमारी कँडेल, प्रतिभा सुवेदी, शोभा राई, उषा थापासहित ८ जनाले करिब ४ करोड रुपैयाँ ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा बुधबार उजुरी गरेका छन् ।
निवेदनमा भिसा र कलाकार संघको नक्कली परिचयपत्र बनादिने शर्मासहित मिठु श्रेष्ठ र प्रकाश अर्यालविरुद्ध ४० भन्दा बढी मानिसबाट करिब ४ करोडको ठगी गरिएको उल्लेख गरिएको कान्तिपुर दैनिक लेख्छ । विभागका अनुसन्धान अधिकृत बाबुराम पाण्डेले उजुरीमा पार्सपोर्टमा लगाएको भिसाको छाप, पैसा बुझाएको हस्तलिखित भर्पाई, चेकको प्रतिलिपि, कलाकार संघको नक्कली कार्ड बनाएको प्रमाण पेस गरिएको बताए ।
पीडित पक्षको भनाइअनुसार अर्याल बेल्जियममा छन् भने शर्मा सम्पर्क बाहिर छन् । मिठुलाई तिनकुने प्रहरीले तारिकमा छाडेको छ । भैरहवाका शर्मा, स्याङ्जाका अर्याल र शान्तिनगरकी श्रेष्ठको समूहले कलाकार बनाई सांस्कृतिक कार्यक्रममा बेल्जियम लैजाने भन्दै ठगेका हुन् ।
बुटवल घर भएका पीडित जेएन घिमिरेले पीएचडी गर्न बेल्जियमको भिसा लगाइदिन्छु भनेपछि शर्मालाई ८ लाख रुपैयाँ बुझाएको बताए । घिमिरेले शर्माको रोहबरमा २०६८ माघ १९ गते कागज गराई ४ लाख रुपैयाँ दिएको प्रमाण पनि देखाए । शर्माले चाहिँ ठगी गरेको अस्वीकार गरे ।
यता चार करोड ठगी काण्डमा परेका दिनेश शर्मा बिरूद्ध कलाकार संघले गम्भिर ध्यानाकर्षण भएको भन्दै आन्तरिक छानबिन प्रक्रिया शुरू गरेको जनाएको छ । एक प्रेस विज्ञप्ती जारी गर्दै संघले भनेको छ- 'छानविनको प्रारम्भिक चरणमा संघले कलाकार दिनेश शर्मासंग सम्पर्क गरी बुझ्दा सो ठगी घटनासंग आफ्नो कुनै पनि संग्लनता नभएको ब्यहोरा जानकारी गराएका छन् । छानविन प्रक्रिया सम्पन्न भएपछि मात्र संघले उचित निर्णय लिने छ ।’


