Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

स्व.शिव रेग्मी भन्थे, `केटा तैंले सफलता देख्छस्`

फिल्मीखबर, काठमाण्डौ, 2014/03/27

हलमा नपुगेसम्म फिल्म हिट कि फल्प यसै भन्न सकिदैन । यद्पी फिल्मको विषयवस्तु, गीतसंगीत एवं मिडिया प्रचारबाजीले भने फिल्मले गर्ने व्यापारलाई केही हदसम्म अड्कल काट्न सकिन्छ ।

 

यही चैत २८ गते प्रदर्शन हुने फिल्म ‘मनले मनलाई छुन्छ’ले व्यापार राम्रै गर्न सक्ने अपेक्षा छ । स्व.निर्देशक शिव रेग्मी निर्देशित अन्तिम फिल्म ‘मनले मनलाई छुन्छ’लाई निर्माण युनिटले प्रचार प्रसारमा व्यापकता दिइरहेको छ । नेपाली फिल्म जगतमा एक दर्जन बढी हिट फिल्म दिएका निर्देशक रेग्मीको प्रदर्शन हुने यो फिल्म अन्तिम भएकै कारण दर्शक हलसम्म ओइरिने आँकलनलाई नकार्न सकिन्न् ।

 

उसो त यस अघि प्रदर्शनमा आएका निर्देशक रेग्मी निर्देशित ‘सो सिम्पल’ र 'पराई’ फिल्मले गतिलो व्यापार गर्न सकेनन् । यी सँगै अन्य फिल्म एकसाथ प्रदर्शनमा आएपछि हलमा दर्शक बाँडिएका थिए । ‘मनले मनलाई छुन्छ’सँग विकास आचार्यको ‘नाइँ नभन्नु ल २’ मात्रै प्रदर्शनमा आउँदैछ । नयाँ वर्षमा दुई फिल्म प्रदर्शनमा आउनु स्वभाविक मानिन्छ । दुई फिल्म मध्ये एउटा माथि हुने भएपनि व्यापारिक हिसाबले तल पर्ने फिल्मका निर्माताले पनि राहत मिल्ने विगतले देखाउँछ ।

 

स्वर्गिय भैसकेका निर्देशक शिव रेग्मीलाई निर्माण युनिटले भने फिल्मको पोस्टर तथा प्रोमो कतै पनि स्व. भनेर उल्लेख गरेको छैन । किन त ? निर्माता तथा अभिनेता बिरेन श्रेष्ठले भने, ‘भौतिक शरीर मरेर गएपनि सृजना कहिल्यै मर्दैन । शिव रेग्मीको सृजनालाई अमर राख्न नामको अगाडी स्व. नलेखिएको हो ।’ बिरेनले थपे, ‘पर्दामा उहाँको सृजना जीवितै छन् । उहाँको मनले हाम्रो मनलाई जहिल्यै छोइ रहनेछ ।’

 

फिल्मीखबरसँग खुल्दै उनले स्व.निर्देशक शिव रेग्मीले फिल्म निर्माण ताका भनेका वाक्य सम्झिए, ‘सरले मलाई जहिल्यै भन्ने गर्नुहुन्थ्यो, हेर केटा तैंले सफलता देखेको छैनस्, यो फिल्मले तँलाई सफलता दिनेछ ।’ सफलता वा असफलता निर्देशक शिव रेग्मीले त देख्न पाएनन् । तर बिरेन भने फिल्म सफल हुनेमा विश्वस्त छन् ।

 

कसरी ? उनको प्रष्ट्याइ छ, ‘शिव सरले यो फिल्मको लागि धेरै नै मिहेनत गर्नुभएको छ । उहाँको मिहेनत खेर नजानेमा हामी विश्वस्त छौं ।’ फिल्ममा बिरेनसँगै ‘झोला’ अभिनेत्री गरिमा पन्त मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् ।