बंगलादेशमा भएको टि-ट्वान्टी विश्वकप क्रिकेट खेलमा आफ्नो शानदार खेल प्रदर्शन गरेको नेपाली क्रिकेट टिमलाई देशभर प्रदर्शनरत फिल्म 'फिटकिरी'को निर्माताले १ लाख १२ हजार रुपैयाँले सम्मान गरे । खेलाडीलाई हौसला प्रदान गर्न उक्त रकम सम्मान स्वरूप प्रदान गरिएको निर्माता अर्जुन कुमारले बताए ।
गत साता अफगानिस्तान बिरूद्धको खेलमा छक्का, चौका हान्ने र विकेट लिने खेलाडीलाई 'फिटकिरी' निर्माण कम्पनी मेगा इन्टरटेन्मेन्ट र वितरण कम्पनी पपकर्न फिक्चर्सले संयुक्त रूपमा नगदले सम्मान गरेको हो । सम्मानित हुनेमा ब्याट्सम्यान सुवास खकुरेलले ६ चौका र १ छक्का हाने वापत ३८ हजार रूपैयाँ प्राप्त गरे । यस्तै ज्ञानेन्द्र मल्लले २९ हजार रुपैयाँ (३ चौका, १ छक्का), शरद भेषवाकरले १५ हजार रुपैयाँ (५ चौका) प्राप्त गरे ।
त्यस्तै जितेन्द्र मुखियालाई ९ हजार रुपैयाँ (३ विकेट), शक्ति गौचन र सोमपाल कामीलाई ६/६ हजार रुपैयाँ (२/२ विकेट), सागर पुन (१ चौका), विनोद भण्डारी (१ चौका) र वसन्त रेग्मी (१ विकेट)लाई तीन/तीन हजार रुपैयाँ 'फिटकिरी'ले दियो । यता जापानमा बस्दै आएका सुजन मैनालीले क्याप्टेन पारस खड्कालाई टिमको राम्रो को-अर्डिनेसन गरेको भन्दै २५ हजार रूपैयाँले सम्मान गरे ।
सम्मानित भएपश्चात टिम क्याप्टेन पारस खड्काले फिल्म निर्माण युनिटलाई धन्यवाद दिंदै यस किसिमको सम्मानले अगाडी बढ्न हौसला प्रदान गर्ने धारणा राखे । यस्तै उनले नेपाली फिल्म क्षेत्र राम्रो हुँदै गएको सुनिरहेको भन्दै जसरी नेपाली जनताले क्रिकेटलाई चासो दिएर हेरे त्यसरी नै नेपाली फिल्मलाई पनि हेरिदिन आग्रह गरे । खेलाडीहरूले आफ्नो दक्षता प्रस्तुत गरिसकेको भन्दै पारसले राम्रो व्यवस्थापन भए आफूहरू अझै अगाडी बढ्न सक्ने भनाई राखे ।






