Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(17 votes, avg 4.59/5.00)
Text size:-
+
-

बजार मूल्य : आर्यनको घट्यो जीवनको बढ्यो

फिल्मीखबर, काठमाण्डौ, 2014/03/26

वर्तमान फिल्म बजारमा दुई अभिनेतालाई भ्याइनभ्याइ छ । अभिनेता आर्यन सिग्देल र जीवन लुइँटेलको दैनिकी सुटिङ स्थलमा बित्ने गर्दछ । रजतपटका व्यस्त यी दुई अभिनेताको बजार भाऊ चाहिं कस्तो छ ? फिल्मीखबरले बुझ्ने प्रयास गरेको छ ।

 

वर्तमान फिल्मको बजार भाउ बुझ्दा आर्यनको भाउ घटाएका निर्माताले जीवनको भाउ भने बढाएका छन् । छायाँकनरत फिल्म ‘नाइके’का लागि आर्यनले चार लाख रुपैयाँको हाराहारीमा लिंदा जीवनले भने फिल्म ‘ठूली’का लागि साढे चार लाख रुपैयाँ पारिश्रमिक रकम लिएको विश्वस्त श्रोत बताउँछ । रेखा थापासँगको ‘किस्मत’, ‘हिफाजत’ र ‘कसले चोर्यो मेरो मन’ फिल्म लगातार चलेपछि आर्यनले आफ्नो बजार भाउ बढाएका थिए ।

 

‘किस्मत’ फिल्मबाट बिना पारिश्रमिक रजतपटमा डेव्यु गरेका उनले फिल्म ‘मेरो एउटा साथी छ’ फिल्मका लागि ७५ हजार रुपैयाँ पारिश्रमिक रकम लिएका थिए । सुटिङ लम्बिन पुगेपछि निर्माताले उनलाई थप पचास हजार रुपैयाँ थपिदिएको बताइन्छ । ‘मेरो एउटा साथी छ’पछि आर्यनको पारिश्रमिक मूल्य आकाशिएको थियो । फिल्म 'के म तिम्रो साथी बन्न सक्छु' र 'धुँवा यो नशा'मा ८ लाख रूपैंयाँ पारिश्रमिक लिएका आर्यनले ‘नाइके’मा आएर आफ्नो रेट घटाउनुले उनको बजार भाऊ घटेको बुझिन्छ ।
 

आर्यनको मुख्य भूमिका रहेको फिल्म ‘मेरो एउटा साथी छ’मा सहायक भूमिका निभाएका जीवनको बजार भाऊ भने फिल्म ‘अन्दाज’ र ‘नाइ नभन्नु ल’बाट बढेको हो । ‘सिम्पल सिम्पल कान्छी’ र ‘नाइ नभन्नु ल’ बोलको गीतबाट दर्शक माझ ‘नोटिस’ भएका जीवनले डेव्यु फिचर फिल्म विकास आचार्यको ‘नसिब आफ्नो’ फिल्ममा बिना पारिश्रमिक खेलेका थिए । ‘अन्दाज’मा उनले एक लाखको हाराहारिमा पारिश्रमिक रकम लिएको बताइन्छ ।

 

‘मालतीको भट्टी’, ‘नोटवुक’ जस्ता फिल्मले जीवनको पारिश्रमिक मूल्य ह्वात्तै बढाइदियो । मिस्टर नेपाल, भिजे र मोडलिङ हुँदै फिचर फिल्ममा प्रवेश गरेका जीवनले वर्तमान फिल्म बजारका निर्माताबाट एउटा फिल्म खेले वापत कम्तीमा तीन लाख रुपैयाँ लिने गरेका छन् । नेपाली नयाँ वर्ष चैत २८ गने प्रदर्शन हुने फिल्म ‘नाइ नभन्नु ल २’ र पोष्ट प्रोडक्सनमा रहेको फिल्म ‘स्टुपिड मनले’ ले जीवनको बजार भाउ अझै बढाउने अनुमान छ ।