फिल्ममा लगानी केका लागि ? सुरुमा सबैले नाफा हुन्छ भनेरै फिल्ममा लगानी गर्ने गर्दछन् । तर, यस्ता पनि निर्माता छन्, जसले नाफा घाटा बिर्सिएर सम्बन्धको लागि फिल्ममा लगानी गरेकी छिन् ।

रोमियन लिम्बु, जो लण्डन लाहुरेकी पत्नी हुन् । उनी स्वयम् पनि लामो समयदेखि लण्डनमा बस्दै आएकी छिन् । दुई सन्तानकी आमा उनी लण्डनमा खाली बस्दिनन् । मर्यादित पेशामा आवद्ध छिन् । लण्डनमा के गर्नुहुन्छ ? भन्ने प्रश्नमा केही साता पूर्व ‘नागबेली’ फिल्मको प्रचार प्रसार एवं प्रदर्शनको व्यवस्थापन मिलाउन नेपाल आइपुगेकी रोमियन फिस्स हाँसिन् मात्रै । सोधिएको प्रश्नको जवाफ दिन उनले आवश्यक ठानिन् कि !
रोमियन वर्षले ३० पनि नाघेकी छैनन् । तर, उनले ‘नागबेली’ फिल्मका लागि आफ्नो उमेर भन्दा दोब्बर रकम लगाएकी छिन् । प्रचार प्रसार सहित ६० लाख रुपैयाँ । किन त ? उनले ढुक्कका साथ भनिन्, ‘मैले मेरो दाजुको लागि फिल्ममा लगानी गरेको हुँ ।’
एक सय बढी नेपाली फिल्ममा नृत्य निर्देशन गरेका गोविन्द राई रोमियनका धर्म दाजु हुन् । आउँदो असार २७ गते प्रदर्शन हुने ‘नागबेली’का यी दुवै नव निर्माता र नव निर्देशक हुन् । रोमियनले थपिन्, ‘नाफा भयो भने राम्रै हुन्छ । घाटा भयो भनेपनि म दुःखी हुने छैन ।’ किन ? उनले भनिन्, ‘दाजुलाई निर्देशकको परिचय दिन म सफल भएँ ।’ लण्डन प्रिमियरबाट उनले ९ लाख रकम उठाइसकेकी छिन् ।
रोमियनले अन्य नेपाली फिल्ममा लगानी गर्न आफु ईच्छुक रहेको समेत खुलाइन् । उनले भनिन्, ‘म यो फिल्मबाट हराएर जान्न ।’ पुनः दाजु माथि नै लगानी गर्नुहुन्छ ? उनले हास्तै भनिन्, ‘त्यो त अहिले नै भन्न सक्दिन ।’ लण्डन प्रिमियरमा दर्शकले ‘नागबेली’ हेरे दिएको प्रतिक्रियाबाट उनी उत्साहित छिन् ।

