केहि निर्माता यस्ता पनि छन् जो लगानी गरेर पनि गुपचुप बस्न चाहन्छन् । केहि निर्माता भने काम भन्दा बढि नाम खोज्छन् । फिल्मबाट सफलता पाएर पनि मिडियामा खासै नसुनिएको नाम हो, मालती शाह ।

निर्माता छबिराज ओझाले पहिलो पटक 'लंका' फिल्ममा लगानी गर्न हौस्याएपछि मालतीलाई सानैदेखि नेपाली फिल्मको मोहले लगानी गर्न मोहित बनायो । 'लंका'बाट लगानी उठाउन सकिनन् तर फिल्मको किराले टोकीसकेको थियो उनलाई । दोस्रो फिल्म 'झोला'मा लगानी गरिन् । फिल्म चल्यो अनि पैसाले उनको झोला पनि भरियो, मन पनि भरियो ।
बर्दियाको उखर्मौलो गर्मीमा स्कुलबाट भागी भागी फिल्म हेर्न गएको दिन सम्झदै मालतीले फिल्मीखबरसँग नेपाली फिल्मप्रतिको मोहको बारेमा खुलेर भनिन्, 'नेपाली फिल्मको नाम सुन्ने बित्तिकै मलाई रमाईलो लाग्छ । आज निर्माता भएर आउन पाउँदा झनै खुसी छु ।' राजनीति र समाजसेवालाई पनि अगाडी बढाउन खोजेकी मालतीले नेपाली फिल्ममा निरन्तर लगानी गर्दै जाने बताईन् ।
फिल्म 'लंका'मा नारीको आवाजमा लगानी गरेकी मालतीले 'झोला'मा सय बर्ष पूरानो सती प्रथाको कथामा लगानी गरेर जोखिम् मोलिन् । जोखिम यस अर्थमा; ४ वटा गीत, चार वटा फाईट, अग्ला अग्ला भवन अनि चिटिक्क परेको अनुहार चलिरहेको फिल्म बजारमा 'झोला'को कथा जोखिम नै थियो । 'निर्देशकले धेरै मेहनत गरेर राम्रो फिल्म बनाईदिनु भएकोमा आज सबैको मुखमा 'झोला' भएको छ,' मालतीले सफलताको स्वास फेर्दै भनिन्, 'यसबाट पाएको सफलताले मलाई हौसाएको छ ।'
नारी द्धन्दको कथामा फिल्म लगानी गरिरहने बताउने मालती यसपटक भने साँगीतिक प्रेमकथामा बन्न लागेको फिल्म 'धून'मा लगानी गर्दैछिन् । एक पटक एक्सन फिल्ममा लगानी गर्न मन छ । त्यसपछि फेरि नारी प्रधान फिल्म बनाउँछु,' मालतीले भनिन् ।
तर, उनीमा नेपालको अव्यवस्थित फिल्म प्रदर्शन प्रणालीले नमिठो छाप छोडेको छ । 'फिल्म बनाउन भन्दा चलाउन र पैसा उठाउन गार्हो रै'छ,' मालतीले भनिन्, 'फिल्म चल्दा चल्दै उतार्दिंदा, समयमा सहि हिसाब नदिंदा भने किन पैसा खन्याए जस्तो हुन्छ । तरपनि नेपाली फिल्ममा केहि गरौं भन्ने सोच छ ।'

