चैत २१ गते प्रदर्शन हुने फिल्म ‘आधी बाटो’बाट कलाकारद्धय सविन श्रेष्ठ र अनु शाह प्रचारको प्याकेजबाट माइनस भएको खबर पुरानो भैसक्यो । हामी यहाँ संगीतकार सुरेश अधिकारी माथि नै 'सिन्डिकेट' लागेको बारे चर्चा गर्दैछौं ।
फिल्म ‘आधी बाटो’मा संगीतकार सुरेश अधिकारीले तीन वटा गीतमा संगीत दिएका छन् । बाँकी गीतमा गायक तथा नायक यश कुमारको संगीत छ । निर्माण युनिट यशले संगीत दिएको ‘मायाको डोली चढाइ...’ बोलको गीतलाई टेलिभिजन तथा रेडियोको प्रचारमा जोड दिइरहंदा संगीतकार अधिकारीले संगीत दिएको 'जरुर आउनु...' बोलको गीत भने युवट्युवमा मात्रै सिमित छ ।
संगीतकार अधिकारीले संगीत दिएको अर्को ‘कोही आए जस्तो..’ बोलको गीत पनि फिल्म प्रदर्शन हुने दुई साता बाँकी राखेर सार्वजनिक गरियो । जुन गीतको भिडियोमा सविन, अनु, यश र जेनिशा चारै जनालाई अटाइएको छ । अपलोड गरिएको छोटो समयमै उक्त गीतलाई युवट्युमा हेर्नेको संख्या बढ्दो छ । यसअघि सार्वजनिक गरिएका अन्य गीत जस्तै यो गीत पनि निकै नै सुमधुर सुनिन्छ ।
राम्रो सुनिने गीतलाई किन प्रचार प्रसारमा ल्याउन ढिलाइ गरियो ? फिल्म रिलिज हुने दुई साता अघि गीत रिलिज गरेर कतै ‘आधी बाटो’का निर्देशक तथा निर्माताले संगीतकार माथि नै सिन्डिकेट लगाउन त खोजेका हैनन् ? निर्देशक सविर श्रेष्ठले सबै गीतलाई एकसाथ प्रचार प्रसार ल्याएर ‘भद्रगोल’ गर्न नखोजेको प्रतिक्रिया दिए ।

