महेन्द्रनगरको सुटिङ सेटमा पुगेर निर्देशक भएकी अभिनेत्री रेखा थापाले २५ दिनमा फिल्म ‘हिम्मतवाली’को छायाँकन सकाएकी छिन् । काठमाण्डौमा दुई दिन छायाँकन गर्ने गरी ‘हिम्मतवाली’ युनिट चैत १० गते राजधानी फर्किसकेको छ ।
छायाँकन सकिएको अन्तिम दिन चैत ९ गते ‘हिम्मतवाली’ युनिटले खसी काटेर खुसी मनाए । ‘हिम्मतवाली’ युनिटको खुसीयालीमा एमाओवादी नेता तथा पूर्व आपुर्ति तथा वाणिज्य मन्त्री लेखराज भट्ट पनि सरिक हुन पुगेका थिए । ‘हिम्मतवाली’को व्यवस्थापनमा समेत सहयोग गरेका मन्त्री भट्ट झन्डै चार घण्टाजसो युनिटसँग बसेको खबर छ ।
स्थानियबाट अबिर माला पहिरिएर कञ्चनपुरदेखि काठमाण्डौ फर्कदै गरेकी रेखाले हिम्मतवाली’को छायाँकन ‘बबाल’ भएको प्रतिक्रिया दिइन् । निर्देशक, निर्मात्री तथा अभिनेत्री थापाले भनिन्, ‘फिल्मको छायाँकन सोचे भन्दा निकै राम्रो भयो । काठमाण्डौमा केही सिन खिच्न बाँकी ।’

.jpg)
काठमाण्डौको सुटिङ सकिएपछि रेखाले प्रेस मिट गर्ने बताउँदै निर्देशक श्याम भट्टराईसँगको विवादका बारेमा पनि बोल्ने बताइन् । नारी प्रधान एक्सन शैलीको ‘हिम्मतवाली’मा चन्द्र पन्तको फाइट एवम् रामशरण उप्रेतीको छायाँकन छ । बसन्त सापकोटा र टंक बुढाथोकीको संयुक्त संगीत रहेको फिल्ममा बसन्त श्रेष्ठ र कमल राईले नृत्य निर्देशन गरेका छन् । आउँदो वर्षको दशैंमा ‘हिम्मतवाली’लाई रिलिज गर्ने रेखाले बताइन् ।

