जेठ ९ गते प्रदर्शन हुने फिल्म ‘हँसिया’मा १ सय ३७ जना फाइटरसँग फाइट खेलेकी नव अभिनेत्री हेमा श्रेष्ठको अभिनेता राजेश हमालले प्रसंशा गरेका छन् । अभिनेता हमालले भने, ‘हेमाजी एक्सनमा पोख्त हुनुहुँदो रहेछ । उहाँले ‘हँसिया’मा निकै राम्रो काम गर्नुभएको छ ।’
फिल्म ‘हँसिया’ युनिटले चैत ९ गते आयोजना गरेको अडियो तथा दोस्रो प्रोमो सार्वजनिक कार्यक्रममा अभिनेता हमालले तेक्वान्दोको थर्ड डन समेत रहेकी अभिनेत्री श्रेष्ठको प्रसंशा गरेका हुन् । दरबार मार्गस्थित मधुशाला रेष्टुरेन्टको कार्यक्रममा झन्डै डेढ घण्टा ढिला गरी आइपुगेका अभिनेता हमालले ‘हँसिया’ फिल्म स्तरीय बनेको समेत बताए । आफ्नो समेत एक्सन दृश्य रहेको फिल्मबारे हमालले भने, ‘फिल्मको लागि हामी सबै युनिट उत्साहित छौं ।’
अभिनेता राजेश हमाल सहित अन्य ‘हँसिया’ युनिटको प्रसंशाबाट उत्साहित बनेकी हेमाले भने आफ्नो मेहनत खेर नजाने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘सुरुमा फिल्मको कथा सुन्दा गर्न सक्छु र ? भन्ने लागेको थियो । तर, सबैको हौसलाले काम गर्न सकें ।' निर्देशक मिलन चाम्सले ‘हँसिया’ फरक खालको फिल्म रहेको बताए । ९३ दिन लगाएर फिल्मको छायाँकन गरेका निर्देशक चाम्सले भने, ‘यो नारी प्रधान फिल्म हो । फिल्मलाई राम्रो बनाउन हामीले कुनै पनि कुरामा कम्प्रोमाइज गरेका छैनौं ।'
दुर्गा घलेको लगानी रहेको फिल्मको कुल लागत एक करोड पन्ध्र लाख दाबी गरिएको छ । कल्याण सिंहको संगीत रहेको फिल्ममा चार गीत समावेश छन् । यी गीतहरुमा राजेश पायल राई र सिवानी मोक्तानको स्वर छ । ‘हँसिया’की शिर्ष पात्र हेमासँगै अभिनेत्री प्रियंका कार्कीको समेत आइटम नृत्य रहेको फिल्ममा रेनशा वान्तवा राईले नृत्य निर्देशन गरेकी छिन् । फिल्ममा हेमा र राजेशसँगै म्यानहन्ट इन्टरनेशल बिजेता अनुप बिक्रम शाहीको पनि मुख्य भूमिका रहेको छ ।
सार्वजनिक गरिएका प्रोमोबाट प्रतिक्षित बनेको ‘हँसिया’ फिल्मको यही अप्रिल २७ तारिखमा हङकङ र अप्रिल २८ तारिखमा लण्डनमा रेड कार्पेट प्रिमियर शो आयोजना हुँदैछ । एक्सन प्रेमी दर्शकलाई हलसम्म तान्ने आशा गरिएको ‘हँसिया’ फिल्मको वितरण दर्शना आर्टस्ले गर्दैछ ।








