पोष्ट-प्रोडक्सनमा रहेका फिल्मले आफ्नो प्रदर्शन मिति तोक्न थालेका छन् । प्राविधिक ढिलाइ एवम् प्रतिस्पर्धामा अन्य फिल्म भएपछि केही फिल्मका निर्माताले भने तोकिएको प्रदर्शन मितिलाई केही साता पर पुर्याएका छन् ।
अभिनेता आर्यन सिग्देलको समेत लगानी भनिएको फिल्म ‘नोभेम्वर रेन’ले प्रदर्शनको एक महिना अगाडी आएर मिति सार्यो । चैत २१ गत प्रदर्शन हुने फिल्म वैशाख १२ मा पुग्यो । नम्रता श्रेष्ठ र आर्यन सिग्देलको मुख्य अभिनय रहेको फिल्मसँग ‘कवड्डी’ फिल्म जुध्दैछ । त्यस्तै चैत २८ गते रिलिज हुने सविर श्रेष्ठ निर्देशित फिल्म ‘आधी बाटो’ एक हप्ता अघि सर्यो । रमेश त्वयना निर्मित फिल्म चैत २१ गते प्रदर्शन हुँदैछ ।
नृत्यनिर्देशक गोविन्द राईको पहिलो निर्देशकिय फिल्म ‘नागबेली’ आउँदो असार २७ गते प्रदर्शन हुने भएको छ । काठमाण्डौमा गोपाल कायस्थ र मोफसलमा एफडि कम्पनीले वितरणको जिम्मा लिएको निर्देशक राईले जानकारी दिए । सञ्चारकर्मी दिपेन्द्र लामाको पटकथा रहेको यस फिल्ममा दयाहाङ राई, हर्षिका श्रेष्ठ, विक्की मल्ल, सुरवी जैन, सम्भव श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको छ ।
त्यस्तै यसअघि वैशाख १२ गते प्रदर्शन हुने भनिएको कमलकृष्ण पौडेल निर्देशित फिल्म ‘दमदार’ ले आफनो प्रदर्शन मितिलाई केही साता पर सारेको छ । रेखा थापाको एक्सन भूमिका रहेको यो फिल्म अब वैशाख २६ गते प्रदर्शन हुनेछ । ‘दमदार’सँग अभिनेत्री प्रियंका कार्कीको पहिलो अभिनय रहेको 'मेरो बेस्ट फ्रेण्ड' नामक फिल्म पनि वैशाख २६ मै प्रदर्शनमा आउने चर्चा छ । 'मेरो बेस्ट फ्रेण्ड' धेरै रिलिज मिति सारिएको फिल्मको कोटीमा पर्छ ।
पोष्ट-प्रोडक्सनमा रहेको छवि ओझा निर्मित ‘लज्जा’ फिल्मले साउन महिनामा प्रदर्शनको लक्ष्य राखेपनि मिति भने तोकिसकेको छैन । दर्जन बढी पोष्ट-प्रोडक्सनमा रहेका फिल्म उचित प्रदर्शन मितिको पर्खाइमा छन् । 'च्यालेञ्ज', ‘मेरो भ्यालेन्टाइन' र 'माई प्रमिस' जस्ता फिल्मको रिलिज मिति पेन्डिङ भैरहेका छन् । यी फिल्म कहिले प्रदर्शन हुन्छन् ? कुनै टुङगो छैन ।

