सस्पेन्स थ्रिलर फिल्म ‘आवरण’को पहिलो प्रोमो रिलिज गरिएको छ । प्रोमोमा ‘आवरण’की शिर्ष कलाकार प्रियंका कार्की हाइलाइट भएकी छिन् । कलाकार दिव्य देव र सुशिल पाण्डेसँगै बालकलाकार अनुभव रेग्मी र आँचल अग्रज केसी पनि प्रोमोमा देखिएका छन् ।
‘आवरण’को पहिलो प्रोमो रिलिज गर्न निर्माण युनिटले चैत ८ गते प्रेसमिट आयोजना गरेको थियो । जहाँ निर्माता अनिल योञ्जनले आफ्नो छोटो भनाई राख्दै भने, ‘फिल्म क्षेत्रमा केही गर्रौ भनेर आएको छु । सबैको साथ र सहयोगको अपेक्षा छ ।’ फिल्मको शिर्ष भूमिकामा प्रस्तुत भएकी अभिनेत्री प्रियंका कार्कीले फिल्मको सुटिङ रमाइलोसँग सम्पन्न भएको अनुभव साटिन् ।
‘आवरण’को शिर्ष गीतमा स्वर समेत दिएकी प्रियंकाले भनिन्, ‘म भर्सटायल एक्टर हुने प्रयास गर्दैछु । ‘आवरण’ को विषयवस्तु नै चुनौतीपूर्ण थियो । उक्त विषयवस्तु माथिको भूमिकालाई मैंले न्याय गर्ने कोसिश गरेको छु ।’ यो वर्ष प्रदर्शनमा आएको सफल फिल्म ‘झोले’की मुख्य अभिनेत्री प्रियंकाको यही चैत २८ गते ‘नाइ नभन्नु ल २’ प्रदर्शनमा आउँदैछ ।
‘अपवाद’ पछि दोस्रो फिल्म निर्देशन गरेका सुवास कोइरालाले भने ‘आवरण’ फिल्म प्राविधिक रुपमै चुनौती पूर्ण रहेको बताए । उनले भने, ‘हामीले एक लेभल माथि उठेर फिल्म निर्माण गर्ने कोसिश गरेका छौं । आश गर्रौ दर्शकले फिल्मलाई मन पराउनु हुनेछ भन्ने विश्वास छ ।’



जेठ २ गते प्रदर्शन हुने यस फिल्मलाई हरि हुँमागाईले खिचेका छन् भने संगीत स्वप्निल शर्मा, बावु बोगटी, कसम नेपाली, शैलेन्द्र सिंह र शैलेन्द्र श्रेष्ठले दिएका छन् । ‘आवरण’ मा अनिल योञ्जनसँगै रोजन श्रेष्ठ, लक्ष्मी लामा, प्रतिभा योञ्जन र सविता राईको लगानी छ ।

