शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'फिटकिरी' हेर्ने दर्शकको संख्या बढ्दो रहेको रिपोर्ट प्राप्त भएको छ । शुक्रबारको तुलनामा शनिबार हलमा दर्शकको संख्या उलेख्य देखियो ।

शुक्रबार सन्तोषजनक व्यापार गरेको 'फिटकिरी'को शनिबारको दर्शक संख्या देखेर निर्माण युनिट दंग छ । बिशेषगरी मल्टिप्लेक्स हलमा यो फिल्म हेर्ने दर्शक बढ्दो छ । सिङ्गल स्क्रिनमा भने मध्यम व्यापार रहेको जानकारी छ । 'माउथ पब्लिसिटी'ले दर्शक भोलीका दिनमा अझै बढ्ने निर्माण युनिटको विश्वास छ ।
रंगमञ्चमा खारिएका अनुप बरालको पहिलो निर्देशकिय फिचर फिल्म ‘फिटकिरी’ले बिदेशबाट नै झन्डै लगानीको आधा रकम उठाईसकेको छ । अन्य देशमा प्रदर्शनको अधिकार दिन बाँकी रहेकाले निर्माता आफ्नो लगानी सुरक्षित भएर नाफा कमाउनेमा ढुक्क देखिएका छन् । अर्जुन कुमार र सुमिन मैनालीले निर्माण गरेको यो फिल्ममा सौगात मल्ल, दीया मास्के, निश्चल बस्नेत, शान्ती गिरी लगायतको अभिनय छ ।

