अभिनेत्री रेखा थापा सेटमा पुगेर फिल्म निर्देशक बनिन् । निर्देशक श्याम भट्टराईलाई आउट गरेर आफैं ‘हिम्मतवाली’ को निर्देशनमा इन भएकी रेखाले फिल्म बनाउलिन् ? चासो व्यप्त छ ।
रेखा भन्दा निकै अगाडी फिल्म निर्देशन गर्ने मनस्थिति बनाएकी सुन्दरी अभिनेत्री करिश्मा मानन्धरले फिल्म निर्देशन गर्ने कुनै सुरसार छैन । फिल्मीखबरसँग कुराकानीमा करिश्माले तत्कालै आफुले फिल्म निर्देशन गर्ने सम्भावना नरहेको बताइन् । फिल्म निर्देशन गर्ने भनेर करिश्माले केही समयअघि स्क्रिप्ट राईटरसँग सेटिङ समेत गरिसकेकी थिइन् । सेटिङले बिचमै फेल खायो ।
करिश्माको फिल्म निर्देशन गर्ने मिसन पनि अपुरै रह्यो । किन करिश्माले फिल्म निर्देशनको पाटोलाई बिचमा छाडिन् ? चैत ८ गते साँझ घुमघामको लागि दिल्ली निस्कने तयारीमा रहेकी करिश्माले भनिन्, ‘भनेजस्तो कथा पाइसकेको छैन ।’ उनी आफ्ना पहिलो निर्देशकिय फिल्म राम्रो होस् भन्नेमा दृढ सुनिइन्, ‘हल्का विषयमा फिल्म निर्देशन गरेर भोली राम्रो भइदिएन भने घाटा आफैंलाई हो । हाम्रा दर्शक एड्भान्स भैसकेका छन् । दर्शकलाई मन पर्ने विषयवस्तुको खोजीमा छु ।’

