शिर्षकमा 'श्री ५' राखिएकाले ‘श्री ५ अम्बरे’ राजावादी फिल्म नभएको निर्देशक दिपा बस्नेतले बताएकी छिन् । ‘अन्तराल’ पछिको दोस्रो निर्देशकिय ‘श्री ५ अम्बरे’को प्रेसमिटमा बोल्दै निर्देशक बस्नेतले भनिन्, ‘हाम्रो समाजमा कहीं कतै आफु राजा हुँ भन्ने आभास हुन्छ । यस्तै एउटा कुनै वर्ग भित्र राजा बन्ने सपना बोकेको एउटा पात्रको कथा नै ‘श्री ५ अम्बरे’ हो ।’
नयाँ बानेश्वरस्थि अल्फा विटा हाउसको प्रेसमिटमा बोल्दै उनले फिल्मबारे थपिन्, ‘यो सामाजिक कथाबस्तुमा आधारित फिल्म हो । यो राजावादी फिल्म हैन ।’ पहिलो पटक फिल्म निर्माणमा हात हालेका निर्माता अमृत अग्रवालले ‘श्री ५ अम्बरे’ आफ्नो अन्तिम फिल्म नहुने बताए । निर्माता अग्रवालले भने, ‘निरञ्तर नेपाली फिल्म निर्माण गर्ने योजनाका साथ आएको हुँ ।’
शिर्ष भूमिकामा देखिने अभिनेता सौगात मल्लले हरेक फिल्म जस्तै ‘श्री ५ अम्बरे’ मा पनि आफुले मिहेनत गर्ने बताए । अभिनेत्री केकी अधिकारी र प्रियंका कार्कीले विशेषतः महिला निर्देशकसँग काम गर्न पाउँदा ज्यादै खुसी लागेको भनाई राखे । केकीले फिल्ममा आफू 'काली' पात्रको रूपमा देखिन लागेको भन्दै कथाबस्तु अत्यन्त राम्रो भएको बताईन् ।
अभिनेत्री अशिष्मा नकर्मी भने ‘अधकट्टी’ फिल्मको सुटिङमा व्यस्त भएका कारण कार्यक्रम सकिएपछि मात्रै अल्फा विटामा पुगेकी थिइन् । फिल्ममा सौगात, केकी, प्रियंका र अशिष्मासँगै अर्चना डेलाल, विक्रम सिंह, मतिन खान लगायतका कलाकारको अभिनय रहनेछ । अभिमन्यू निरवीको पटकथा रहेको ‘श्री ५ अम्बरे’मा योगेन्द्र श्रेष्ठले द्धन्द्ध निर्देशन गर्नेछन् ।
फिल्ममा संगीत बसन्त सापकोटा, काली प्रसाद बाँस्कोटा, बावु बोगटी र यमवुद्धले दिएका छन् भने नरेश वीर सिंह र निर्मल लामा फिल्मका नृत्य निर्देशक हुन् । ‘श्री ५ अम्बरे’ लाई गणेशकुमार श्रेष्ठले खिच्नेछन् । यही चैत १० गतेबाट छायाँकन हुने ‘श्री ५ अम्बरे’ को काठमाडौं पेरिफेरीमा छायाँकन हुनेछ ।






