आज शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'फिटकिरी'ले नेपाली क्रिकेटरहरुलाई पुरस्कृत गर्ने भएको छ । बंगलादेशमा जारी २०-२० विश्वकपअन्तर्गत बिहीबार अफगानिस्तानविरुद्धको खेलमा छक्का र चौका प्रहार गर्ने तथा विकेट लिने नेपाली खेलाडीहरुलाई पुरस्कृत गरिने भएको हो ।
फिल्मका निर्माता सुमित मैनालीले खेल सुरु हुनुअघि नै छक्का प्रहार गर्नेलाई २० हजार, चौका हान्नेलाई ३ हजार र विकेट लिनेलाई ३ हजार दिने घोषणा गरेका थिए । यसअनुसार सुभाष खकुरेलले ३८ हजार (६ चौका र १ छक्का), ज्ञानेन्द्र मल्लले २९ हजार (३ चौका, १ छक्का), शरद भेषवाकर १५ हजार (५ चौका) र जितेन्द्र मुखियाले ९ हजार रुपैयाँ (३ विकेट) पाउने भएका छन् ।
त्यस्तै शक्ति गौचन र सोमपाल कामीलाई ६–६ हजार (२–२ विकेट), सागर पुन (१ चौका), विनोद भण्डारी (१ चौका) र वसन्त रेग्मी (१ विकेट)लाई तीन–तीन हजार रुपैयाँ 'फिटकिरी'ले दिनेछ । यसरी हेर्दा जम्मा एक लाख १२ हजार रुपैयाँ 'फिटकिरी'ले दिनु पर्ने भएको छ।
नेपाल फर्केपछि क्रिकेट टिमलाई दिवा भोजसहित उक्त रकम दिने फिल्मका निर्माता मैनालीले बताए । यस किसिमको पुरस्कारको व्यवस्था गरिएको अर्का निर्माता अर्जुन कुमारले बताए । रंगकर्मी अनुप बरालले पहिलोपटक निर्देशन गरेको 'फिटकिरी'मा सौगात मल्ल, दिया मास्के, निश्चल बस्नेत, शान्ति गिरी लगायतको अभिनय रहेको छ।

